चितवन, कात्तिक २२- भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुंगे धाराको औपचारिक उद्घाटन गरिएको छ । देवघाट जाने बाटोमा रहेको सो कलात्मक ढुंगे धाराको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गरेकी हुन् ।
देवघाटधाम आउने तिर्थालु तथा मलामीहरुलाई लक्षित गरी बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयअन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन हेटौडाले भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङगे धारा निर्माण गरेको हो ।
उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले काठमाडाँैपछि भरतपुरमा पहिलो पटक ढुंगे धारा निर्माण भएको दाबी गरिन् । ढुंगे धारा निर्माण स्थललाई आकर्षक र यसको संरक्षण गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने पनि सो अवसरमा उनले बताइन् ।
महानगर प्रमुख दाहालले देवघाट क्षेत्रको विकासका गर्न महानगरपालिकाले प्राथामिकताका साथ बजेट विनियोजन गर्दै आइरहेको उल्लेख गरिन् । उनले देवघाट क्षेत्रमा बस पार्क, सडकको स्तरोन्नति, शवदाह गृहलगायतका महत्वपूर्ण पूर्वाधार निर्माणका कार्य भइरहेको बताइन् । खानेपानी तथा सरसफाई डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब तीन किमी भूमिगत पाइपबाट सो स्थानमा पानी ल्याइएको हो । भरतपुर महानगरपालिकाको सहकार्यमा बागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपैयाँ खर्च गरेको प्रमुख पौडेलले बताए ।
धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । भरतपुर भ्रमण वर्ष २०२४ घोषणा भएसँगै देवघाट आउने धार्मिक पर्यटकलाई प्राचिन ढुङगे धाराको महत्वबारे थप स्पष्ट पार्ने प्रमुख दाहालले बताए ।
भरतपुरको आँपटारीदेखि देवघाट पुण्यभूमिसम्म जाने बाटोको बीचमा भक्तजन यात्रीहरु, पितृ विश्रामस्थल तथा सम्पूर्ण प्राणीजनलाई पानीको आवश्यकता पूरा गर्न मौलिकशैलीकै प्रचिन ढुंगे धारा निर्माण गरिएको जनाइएको छ ।