चितवन । भरतपुर महानगरपालिकाले बागमती प्रदेशसँगको साझेदारीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउने भएको छ ।
पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी महानगर र बागमती प्रदेश बीच सम्झौता भएको छ । ७५ करोड मध्ये ७० प्रतिशत लागत प्रदेशको र ३० प्रतिशत लागत महानगरले हुने महानगरका प्रेस विज्ञ सुरेशचन्द्र अधिकारीले बताए ।
उनका अनुसार रंगशालाको बाँकी काम गर्न तिहार लगत्तै ठेक्का आह्वान हुने छ । ठेक्का प्रक्रिया पूरा हुन करिब दुई महिना लाग्छ । त्यसपछि फिल्डको काम सुरु हुने उनले जानकारी दिए । करिब १८ करोड रुपैयाँ ऋण लागेपछि दुई वर्षदेखि अलपत्र परेको रंगशालाको काम अघि बढ्ने भएको हो ।
रंगशालाको अधुरो काम अगाडि बढाउने विषयमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानासहितको टोलीले वागमती प्रदेश सरकारसँग छलफल गरेको थियो ।
वागमती प्रदेश सरकार तथा मुख्यमन्त्री कार्यालय हेटौडामा मंगलबार मुख्यमन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान तथा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामासहितको टोलीसँग छलफल पछि सहमति भएका हो ।