नवलपुर, ३ कात्तिक
सुगम जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित विकट पहाडी गाउँमा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गैँडाकोटका नगरप्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीसहितको टोलीले आफ्ना वडाका सम्पूर्ण लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो ।
वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर लाभग्राहीलाई प्रदान गरेको वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । “हामीले वडा कार्यालयमार्फत सिधै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका होइनौँ” तिवारीले भन्नुभयो, “नगरपालिकाले एकमुष्ट लाभग्राहीको व्यक्तिगत खातामा रकम जम्मा गरिदिन्छ, हाम्रो भूगोलका कारण वृद्ध बाआमाहरुलाई हिँडेर बैंकसम्म पुग्न समस्या हुन्छ । त्यसैले हामीले सहजीकरण गरेर सबैको पैसा घरमा नै पु¥याएका हौँ ।” नगरपालिकाले सबैको खातामा पैसा हालिदिएपछि लाभग्राहीको घरमा पुगेर चेक जम्मा गरेर वडा कार्यालयले बैंकमा पुगेर सबैको रकम एकमुष्ट साटेर लाभग्राहीको हातमा दिएको वडाध्यक्ष तिवारीले बताउनुभयो ।
“हामीले बैंकका कर्मचारीलाई हाम्रो विश्वास लाग्दैन भने हामीले चेक लिने बेलामा सबै वृद्ध बुवाआमाहरुले चेकमा ल्याप्चे लगाउनुभएको भिडियो खिचेर तपाईंहरुलाई ल्याएर देखाउँछौँ भनेपछि बैंकका कर्मचारीले विश्वास गरेर रकम साटिदिनुभएर हामीले घरमै पु¥याउन सफल भएका हौँ” उहाँले भन्नुभयो । बैंकिङ पद्धतिबाट पैसा आउने गरेको भन्दै वडाध्यक्ष तिवारीले भूगोलका कारण लाभग्राहीलाई बैंकसम्म पुग्न कठिन हुने भएकाले आफूहरुले सहयोग गरेको बताउनुभयो । “हाम्रो वडाबाट एकपटक भत्ता बुझ्न जाँदा प्रति व्यक्ति तीन हजार रुपैयाँसम्म खर्च हुने बाटो छ” उहाँले भन्नुभयो, “यस्तो समस्याको समाधान गर्नुपर्ने हामी जनप्रतिनिधिको दायित्व पनि हो । त्यसैले रकम घरमै लगेर वितरण गरेका हौँ ।”
सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफूहसहित वडा सदस्यहरुलाईसमेत परिचालन गरेको उहाँले बताउनुभयो । “दसैँको लागि मात्रै हामीले भत्ता घरमा पु¥याउन लागेका होइनौँ” उहाँले भन्नुभयो, “मैले मेरो पहिलो कार्यकालदेखि नै सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउँदै आएको छु । हामी वडाका सबै जनप्रतिनिधि मिलेर सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिन्छौँ ।” वडामा रहेका दुई सय २२ घरधुरीका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिन लागेको उल्लेख गर्दै उहाँले सबैको रकम जोड्दा करिब रु २२ लाख हुने उहाँले बताउनुभयो ।
वडा कार्यालयबाट घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिँदा लाभग्राहीसमेत खुसी छन् । ९० वर्षीय सानुमाया सुनारले दिनभरी हिँडेर लाइनमा बसेर भत्ता बुझ्नै समस्या हुने गरेकोमा वडा कार्यालयले घरमै लगेर दिँदा आफूहरुलाई सहज भएको बताउनुभयो । “पैदल हिँडेर अटो चढेर बैंकसम्म पुग्नपथ्र्यो” उहाँले भन्नुभयो, “बैंकमा गएर पनि लामो लाइन बसेपछि मात्रै भत्ता पाइन्थ्यो, यसरी घरमै रकम बुझ्न पाउँदा ज्यादै खुसी लागेको छ ।”