गैंडाकोट – नवलपुरको गैंडाकोट नगरपालिका १० का प्रदीप बस्नेतले जन्मदिनको अवसरमा आश्रममा आश्रित बालिकाहरुलाई खाना खुवाएका छन् ।
बस्नेत आज (बुधबार) आफ्नो २७ औं जन्मोत्सवको अवसरमा चितवनको देवघाटस्थित राम जानकी बालिका आश्रममा खाना खुवाएका हुन् । उनले आफ्नो जन्मदिन आश्रममा मनाउँदै बिहानको खाना खुवाएका हुन् ।
उनले पुण्य कामबाट नयाँ दिनको सुरुवातका लागि आश्रममा भोजन गराईएको बताए । जन्मदिनमा फजुल खर्च गर्नुको साटो आश्रमका बालिकाहरुको सेवा गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ । युवाहरुलाई जन्मदिनमा आनवश्यक खर्च गर्नु भन्दा यस्ता कार्यमा सहयोगको सन्देश पनि आफूले दिन खोजेको उनको भनाइ छ । उनले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
आश्रमकी अध्यक्ष सावित्री टण्डनले युवाहरुको यस्ता कदमले सबैलाई प्रेरणा मिल्ने बताइन् । टण्डनका अनुसार जन्मोत्सव, विवाह उत्सव, पुण्यतिथि जस्ता अवसरमा प्राप्त हुने सहयोगबाटै आश्रम चलिरहेको छ । २०६७ सालदेखि सञ्चालनमा रहेको आश्रममा हाल ३२ जना बालिका आश्रित छन् ।
बस्नेत पेशाले व्यवसायी हुन् । उनले गैंडाकोट ५ कांग्रेसचोकमा निर्माण सामाग्रीको पि.के सप्लायर्स सञ्चालन गर्दै आएका छन् । उनका बुवाले सुरु गरेको व्यवसायलाई हाल उनले सम्हालिरहेका छन् । देशकै केही गर्न सकिन्छ भन्ने अटोटका साथ युवाहरु धमाधम विदेश पलायन भइरहदा पनि आफू नेपालमै व्यवसाय गरिरहेको बस्नेतको भनाइ छ ।





