वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले वीरगञ्जको छपकैयाबाट तीनजना शंकास्पद महिलाहरुलाई पक्राउ गरेको छ । बच्चा चोरी गरेको स्थानीयहरुको सूचनाको आधारमा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२ छपकैयाबाट तीन जना अर्धबैंशे महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने तीनैजना महिला भारतीय नागरिक हुन् । भारतको रक्सौलस्थित इस्लामपुर बस्दै आएका तीनै जना महिला ५० देखि ५५ वर्ष उमेर समूहका रहेको बताइएको छ । भारतमा बच्चा चोर्ने घटनाहरु बृद्धि भएको समाचार सामाजिक सञ्जालमा छ्यापछ्यापी भएपछि नेपालमा पनि भारतीय महिलाहरुले बच्चा चोर्न आएको हुन सक्ने आशंकामा छपकैयाबासीले पर्सा प्रहरीलाई सूचना दिएको थियो ।


सोही सूचनाको आधारमा उक्त महिलाहरुलाई हेर्दा शंकास्पद लागेपछि प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएको छ । स्थानीय उमेश साह कानुका अनुसार उक्त महिलाहरुले बच्चालाई ५० रुपैया दिएर फकाएर लैजान खोजेको अवस्थामा आफूले पक्राउ गरेको बताए ।
उक्त महिलाहरु घर–घरमा गएर पैसा माग्ने गरेको र अभिभावक पैसा लिन घरभित्र गएपछि उनीहरुको बच्चालाई लिएर भाग्न खोज्दा स्थानीयहरुले हल्ला गरेपछि आफूले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको बताए ।
तर यता उक्त महिलाहरुको आफन्तले औंठीको व्यापार गर्ने महिलाहरुलाई बच्चा चोरीको आरोप लगाई पक्राउ गरिएको बताए । उनका आफन्तले भारतको नरकटियागन्ज घर भई छपकैयामा डेरा लिई बस्दै औंठीको व्यापार गर्दै आएको र आफूसँगै उक्त महिलाहरु औंठीको व्यापार गर्नुको साथै घर–घरमा गई राशीको औंठी, घोडाको नालको औंठी बेच्ने काम गर्दै आएको बताए ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले पनि ति महिलाहरु औंठी बेच्ने, झारफुकको नाममा दुई चार पैसा लिई जडिबुटी दिने, राशीको औठी दिने कामहरु गर्दै आएको अनुसन्धानबाट खुलेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म उक्त महिलाहरुले कुनै बच्चा चोरेको घटना जानकारीमा नआएकोले बच्चा चोर नै हो भनेर भन्न नमिल्ने भन्दै उनको साथबाट झारफुकमा प्रयोग हुने केही जडिबुटी, माला, पत्थरका ओठी लगायतका सामानहरु बरामद भएको बताए ।
अनुसन्धानको क्रममा उनीहरुले कुनै विरामी बच्चाहरुलाई झारफुक गर्ने, जडिबुटी दिने, राशीको औंठी हो भन्दै पत्थरको औंठी दिने र त्यसबाट १ सयदेखि २ सय रुपैयासम्म लिने गरेको पाइएको बताए । उनीहरु भारतको रक्सौलस्थित इस्लामपुरमा बस्दै आएपनि विगत तीन चार दिनदेखि वीरगञ्जको विभिन्न टोलहरुमा गई झारफुकको नाममा पैसा ठग्ने गरेको पाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
उनका अनुसार उक्त महिलाहरुविरुद्ध कुनै किटानी जाहेरी पनि परेको छैन, बच्चा चोरी नै गरेको छ भन्ने प्रमाणित भएको छैन । बाहिरबाट आएकाले शंकास्पद लाग्नु स्वभाविक भएपनि कुनै बच्चा चोरी भएको घटना पनि जानकारीमा नआएको उनले बताए ।



