मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने प्रतिवादीका आफन्तले पीडितलाई बयान फेर्न दबाब दिएका छन् । पीडितका आफन्तले बयान फेर्न दबाब आएको बताएका हुन् ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका ग्रामथान गाउँपालिका ७ का १९ वर्षीय आदित्य खाँ थारुका आफन्तले पीडित बालिका र उनका अभिभावकलाई बयान फेर्न दबाब दिएको एक आफन्तले बताए । ‘बकपत्र’मा बोलाएको दिन बयान फेर्न दबाब दिन घरमै आएको पीडितका आफन्तको भनाइ छ ।
गत वैशाख २९ गते ग्रामथान गाउँपालिका ७ तेतरीयामा लागेको मेला जाने क्रममा राति ७ बजे थारुले बलात्कार गरेको भनेर बालिकाले प्रहरीमा जाहेरी दिएकी थिइन् । आरोपीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत मोरङ अदालतमा ‘जबरजस्ती करणी’ मुद्दा दर्ता गरेको थियो । थुनछेक बहसपछि मोरङ अदालतले थारुलाई १० साउनमा पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।
पुर्पक्षको लागि अभियुक्त थुनामा गएपछि पीडकका आफन्तले पीडितको घरमा आएर विभिन्न प्रलोभन देखाएर बयान फेर्न दबाब दिने गरेका छन् । ‘बलात्कार आरोपमा पक्राउ परेका अभियुक्त थुनामा गएपछि अहिले दैनिकजसो फोन र घरमा आएर विभिन्न प्रलोभन देखाएर बयान फेर्न दबाब दिइरहेका छन्’ पीडित बालिकाकी एक आफन्तले भने ।
अदालतमा हुने बकपत्रको बेला जबरजस्ती करणी गरेको होइन भनेर भन्दा ७ लाख रुपैयाँ दिने र बयान नफेरे ज्यान मार्नेसम्मको धम्की दिने गरेको उनले बताए ।
मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाले जघन्य प्रकृतिको अपराधको घटनामा बयान फेर्न पीडितलाई दबाब दिन नमिल्ने भएकोले प्रहरीमा उजुरी दिए कारबाहीको दायरामा ल्याउने बताए । ‘गम्भीर प्रकृतिको अपराधमा यसरी दबाब दिन मिल्दैन,’ उनले भने, ‘पीडितको तर्फबाट कसैले उजुरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ ।’



