तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–३ धयरेमा बिहीबार दिउँसो माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ख ९९९९ नम्बरको माइक्रो अनियन्त्रित भई सम्धीखोला पुलको रेलिङमा ठोक्किँदा बसमा सवार यात्रुहरु घाइते भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । रेलिङमा ठोक्किँदा माइक्रो १५ फिट तल खसेको प्रहरीले बताएको छ ।
घाइतेमध्ये सात महिला र सात पुरुष रहेका छन् । घाइतेमध्ये विमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र माइक्रो चालक जीवन आलेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।
अन्य घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।



