तनहुँ — तनहुँको व्यास–५ की रिता (नाम परिवर्तन) यसै साता ५ वर्षको वैवाहिक जीवन टुंग्याउन जिल्ला अदालत पुगिन् । ५ वर्षको छोरोसहित पुगेकी उनले श्रीमान्ले शारीरिक/मानसिक यातना दिएको भन्दै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराइन् ।
२४/२५ वर्षको केटासँग १७ वर्षमै उनले प्रेमविवाह गरिन् । गर्भवती भएको २/३ महिनाबाटै श्रीमान्बाट शारीरिक तथा मानसिक यातना भोग्दै आएको उनी बताउँछिन् । श्रीमान् परस्त्रीसँग लागेर दैनिक कुटपिट गरी यातना दिने गरेको उनको आरोप छ । ‘उहाँलाई माया गर्थें, त्यसैले सँगै जीवन बिताउने भनी सानै उमेरमै भागेर विवाह गरें,’ उनले भनिन्, ‘तर विवाह गरेको केही महिनादेखि नै कुटपिट गर्न थाल्नुभयो । छोरालाई हेरी अहिलेसम्म सहेर बसेको थिएँ तर अब सक्दिनँ । त्यसैले अदालतमा बच्चापालनपोषण खर्चसहित सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको छु ।’
व्यास नगरपालिकाकी संगीता (नाम परिवर्तन) ले १५ वर्षको उमेरमा प्रेमविवाह गरिन् । सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि सम्बन्ध अन्त्य गर्न साउनको दोस्रो साता जिल्ला अदालतमा पुगिन् । श्रीमान्ले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिएको उनको आरोप छ । ‘पढ्ने खेल्ने उमरमै मायाप्रेममा फसियो र अनजानमै विवाह गरियो’, उनले भनिन्, ‘अहिले आएर ठूलो गल्ति गरेछु जस्तो लाग्छ, कलिलै उमेरमा गरेको गल्तीले भविष्य बिग्रियो ।’ विवाहपछि श्रीमान्को मायाभन्दा बढी कुटपिट र बेवास्ता सहन नसकेर सम्बन्धविच्छेद गर्ने निर्णय गरेको बताउँछिन् ।
भानु नगरपालिकाकी गीता (नाम परिवर्तन) ले २० वर्षको उमेरमा घरपरिवारको स्वीकृतबिनै प्रेमविवाह गरिन् । विवाह भएको वर्ष दिनमा श्रीमान्ले अरूको कुरा सुनेर कुट्ने र खाना पनि नदिने गरेको उनी बताउँछिन् । अहिले उनीहरूको ६ वर्षकी छोरी पनि छ । दैनिकको कुटपिट र अपहेलना सहना नसकेर एकडेढ वर्षदेखि उनी माइत आएर बसेकी छन् । अहिले उनले पनि अंशसहित सम्बन्धविच्छेदको मुद्दा हालेकी छन् ।
प्रेमविवाह गर्ने मात्रै होइन उमेरावस्था नपुगी मागीविवाह गर्नेहरूले पनि सम्बन्ध सोचेअनुसार नचलेपछि अदालतको सहारा लिएर सम्बन्धविच्छेद गरेका केही उदाहरण छन् । शुक्लागण्डकी नगरपालिकाका एक जोडीले घरपरिवारकै सल्लाहमा मागीविवाह गरे । त्यति बेला केटीको उमेर १६ र केटाको १९ थियो । विवाहको उमेर नपुगी वैवाहिक सम्बन्धमा गाँसिएका उनीहरूको सम्बन्ध ५ वर्ष पनि टिकेन । किशोरावस्थामै वैवाहिक सम्बन्धमा गाँसिएका उनीहरूको स–साना कुरामा झैझगडा हुन थालेपछि गत साउन ११ मा श्रीमतीले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरे ।
‘अदालतमा आउने सम्बन्धविच्छेदका मुद्दामध्ये अधिकांश मुद्दा उमेर नपुग्दै प्रेमविवाह गर्ने र २० देखि ३० वर्षको उमेरावस्थामा सम्बन्धविच्छेदका लागि निवेदन दिनेछन्,’ अधिवक्ता शिवदत्त ढकालले भने, ‘किशोरावस्थाका बालबालिकालाई राम्रो निर्देशन नदिँदा, माया के हो ?, विवाह के हो ?, यौन शिक्षा के हो ?, भविष्यमा कस्ताकस्ता चुनौती आउँछन् ? जस्ता कुरा बेलैमा नसिकाउँदा आउने परिणाम हो ।’
किशोरावस्थामै विवाह गर्ने र बुझ्ने भएपछि समस्यामा परी सम्बन्धविच्छेद गर्नेको संख्या बढेको जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिश्चन्द्र गौतम बताउँछन् । जिल्ला अदालतका अनुसार साउन १८ सम्म सम्बन्धविच्छेदका ४६ मुद्दा दर्ता भएकामा २६ वटा फर्छ्यौट भएका छन् । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै ७ सय १९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ५ सय ५० फर्छ्यौट र १ सय ६९ मुद्दा प्रक्रियामै छन् ।
आव २०७७/७८ मा ६ सय ७८ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ४ सय ६३ फर्छ्यौट भएका छन् भने २ सय १५ को फैसला हुन बाँकी छ । आव २०७६/७७ मा दर्ता भएका ५ सय ७१ सम्बन्धविच्छेदका मुद्दामध्ये ३ सय ८२ फर्छ्यौट र १ सय ८९ मुद्दा प्रक्रियामा छन् । अधिकांश २० देखि ३० वर्ष उमेर समूहकाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने गरेका छन् । गौतमले भने, ‘विवाह गर्ने उमेरमा सम्बन्धविच्छेद गर्न आउँछन्, हामीले मिलाउन खोज्छौं । तर उनीहरू सम्बन्ध अन्त्य गर्नै चाहन्छन् ।’



