गुल्मीदरबार गाउँपालिकामा ८३ जना महिला स्वास्थ्य स्वयंसेविका छन् । तीमध्ये ४२ वर्षीया लीला थापा पनि हुन् । पछिल्लो समय थापाको तस्बिरले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा कमाइरहेको छ । १४ माघमा गुल्मीदरबार गाउँपालिका–३ की ७८ वर्षीया वृृद्धा देवकला टण्डनलाई पिठ्युँमा बोकेर उनले कोभिड–१९ विरुद्धको खोप लगाउन लगेको तस्बिरले देशका ठूला मिडिया, सामाजिक सञ्जाल र अभियन्तादेखि अमेरिकी राजदूतको समेत ध्यान खिचेको छ ।
खोप अभियान सञ्चालन भएकाले सचेतना र खोप व्यावस्थापनमा हामी व्यस्त थियौँ । म पनि गाउँकै आमा समूहको छलफलमै थिएँ । सोही क्रममा स्थानीय फुर्सी घिमिरेले ७८ वर्षीया आमा देवकला टण्डनले अझै खोप नलगाएको सुनाइन् । अप्ठ्यारो सडक र वृृद्धावस्थाका कारण खोपकेन्द्रसम्म लैजान नसकेको छोरी फुर्सीले बताइन् ।
खोप अभियानको अन्तिम दिन भएकाले उनीसँगै वृद्धा भएको ठाउँमा पुग्यौँ । सोही दिन गाउँमा एकजनाको मृत्यु भएकाले प्रायः पुरुष थिएनन् । टण्डनको घरबाट स्वास्थ्यचौकी पुग्न करिब आधा घन्टा मात्रै लाग्छ । वृद्धाकी छोरी पनि बिरामी थिइन् । त्यसैले मैले नै बोकेर स्वास्थ्य चौकी लैजाने निर्णय गरेँ ।
बिरामी नभएको भए उनकै छोरीले स्वास्थ्य चौकी ल्याउने थिइन् । मैले लोकप्रियता कमाउन आमालाई बोकेको होइन । यहाँको सडकको दुरवस्था र वृद्धवृद्धाको वास्तविकता देखाउन खोजेकी हुँ । ठूला सडकले मात्रै प्राथमिकता पाउँदा साना र साँघुरा सडक प्राथमिकतामा पर्दैनन् ।
यही कारण स्थानीयले भोग्नुपरेको जोखिम देखाउन मैले फोटो सार्वजनिक गरेकी हुँ । खोप लगाएपछि पनि आमालाई फेरि बोकेर घरमै पुर्याएँ । फोटो सार्वजनिक गरेको केही बेरमै फोन र म्यासेज आउन थाले । तस्बिरमा देखिएको परिस्थितिले सबैको मन छोएको होला । यसअघि पनि कैयौँ अप्ठ्यारामा काम गरेकी छु । स्वास्थ्य आमा समूहमै काम गर्दा पनि निकै पीडा भोगेकी छु । अहिलेको प्रशंसा र स्याबासीले काममा थप ऊर्जा भरेको छ ।
काममा सधैँ सिर्जनशील
मैले ०७१ सालबाट स्वयंसेविकाको रूपमा काम थालेकी हुँ । स्वयंसेविका नहुँदा पनि गाउँमा गर्भवती र सुत्केरीको घरघरमा पुग्थेँ । मलाई रेडक्रसले मानवताको विषयमा धेरै कुरा सिकाएको छ । त्यसैले सूचना पाएसम्म कुनै घटना वा दुर्घटनामा उद्धारमा पहिले नै पुग्न खोज्छु । असल नियतको कर्मको फल एक दिन मिल्छ ।
दृष्टिविहीन छोरीका कारण अझै मानवीय बनेँ
मेरी छोरी दृष्टिविहीन छिन् । उनी जन्मजात दृष्टिविहीन हुन् । अपांग तथा दृष्टिविहीन परिवारप्रति समुदायले हेर्ने दृष्टि फेरिएको छैन । यस्तै वातावरणबीचमा पनि छोरीले १२ कक्षा उत्तीर्ण गरेकी छन् । आफ्नै छोरी जन्मजात दृष्टिविहीन भएकाले पनि कोही सुत्केरी हुनेबित्तिकै बच्चाको शारीरिक अवस्था हेर्छु । बच्चा जन्मनेबित्तिकै हात, खुट्टा र आँखा हेर्ने गर्छु । केही समस्या भए बेलैमा उपचार गरे निको हुन सक्छ । परिवारमा भोगेको पीडा अरूले भोग्नु नपरोस् जस्तो लाग्छ ।
सरकारले हामीलाई वर्षमा पोसाकबापत १२ हजार, गाउँपालिकाले मासिक सात सय र अभियानमा भत्ताबाहेक केही दिँदैन । यो पोसाकमा सर्वसाधारणको घरमा पुग्दा डाक्टर नै आए झैँ गर्नुहुन्छ । त्यो माया नै हाम्रो आत्मसम्मान हो । त्यही गर्वका साथ कर्म अगाडि बढेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पनि उठेकी थिएँ । जिल्लाका ९३ वडामध्ये महिला अध्यक्षमा उम्मेदवार दिने म एक्लै थिएँ । एमालेबाट गुल्मीदरबार गाउँपालिका–३ को वडा अध्यक्षमा उम्मेदावरी दिएकी थिएँ । तर, कांग्रेसका बलबहादुर थापाले जिते ।




