म्याग्दी — लगातारको झरीले गर्दा मालिका गाउँपालिका–२ रुममा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीमा समस्या भएको छ । घाइते दुई जनालाई उपचारका लागि अन्यत्र लैजान बाटोका अन्य पहिरो छिचोल्न नसकेपछि फर्काएर स्थानीय रुम स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
वडाध्यक्ष उदय बुढाका अनुसार खराब मौसमले गर्दा पोखरामा हेलिकोप्टर स्ट्यान्डवाई राखिएको भए पनि उद्धार गर्न सकिएको छैन ।
झरीले गर्दा पहिरोमा हिलोको दलदल रहेकोले हिलोमा पसेर बेपत्ता भएकालाई खोज्न समस्या भएको हो । मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा पहिरोले दुई घर र गोठ बगाउँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन्।
प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर बजे खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु नविन र राजन विकको घटनास्थलमै मृत्यु भएको हो । जुठे र उनकी श्रीमती गोरी विक घाइते भएका छन् ।
पहिरोमा परी घामबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी विक बेपत्ता छन् ।
‘वर्षा नरोकिएको र खराब मौसमको कारण घाइतेको उद्धारमा हेलिकोप्टर पठाउन सकिएको छैन,’ जिल्ला प्रहरी प्रमुख डिएसपी तिलक भारतीले भने, ‘बाटोको बीचबीचमा झरेका पहिरो छिचोल्दै भर्खरमात्र प्रहरी घटनास्थल पुगेको छ । स्थानीयसहित प्रहरीले खोजी जारी राखेपनि उद्धारमा समस्या भइरहेको छ ।’



