काठमाडौं : भारतको बिहारमा ४० दिनको एक शिशुको पेटमा अर्को भ्रुण पाइएको छ। बिहारको मोतिहारी जिल्लामा जन्मिएका ती शिशुको पेटमा भ्रुण पाइएपछि चिकित्सकहरु आश्चर्यचकित भएका छन्।
शिशुको पेट फुल्ने र पिसाब गर्न समस्या देखिएपछि अस्पताल लगिएको थियो। सीटी स्क्यानपछि पेटमा अर्को भ्रुण रहेको पाइएको थियो।
चिकित्सकका अनुसार संसारमै निकै दुर्लभ मानिएको यो स्थितिलाई ‘फिटस इन फेटु’ भनिन्छ। शिशु आमाको गर्भमै रहेकै बेला उसको पेटमा भ्रुण रहेको बताइएको छ। डाक्टरहरुले शल्यक्रियापछि उक्त भ्रुण निकालेका छन्।
५ देखि १० लाखमा १ जनामा यस्तो समस्या देखिने बताइएको छ। यो समस्यामा आमाको गर्भको समयमै शिशुको पेटमा भ्रुण विकसित हुनसक्ने बताइएको छ। अध्ययनका अनुसार गर्भमा विकसित भइरहेको शिशुको पेटमा जुम्ल्याहा बच्चाको भ्रुण जाँदा यो स्थिति देखा पर्छ । एजेन्सी