काठमाडौं : अल्ट्रासाउन्ड गर्दा डाक्टरले बिरामीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । भारत, उत्तर प्रदेश, आगराको लेडी लोयल अस्पतालमा एक बिरामीले यस्तो आरोप लगाए । बिरामीका अनुसार अल्ट्रासाउन्ड गर्दा डाक्टरले उनलाई दुर्व्यवहार गरेका थिए ।
त्यसपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरे । बिरामीले डाक्टरविरुद्ध प्रहरी चौकी नाई बजारमा उजुरी दिएका छन् । प्रमुख प्रहरी उपरीक्षकले घटनाको छानबिन गर्न तीन सदस्यीय समिति पनि गठन गरेको जानकारी गराए ।
फतेहपुर सिकरी निवासी २५ वर्षीया महिलाले आफू एक महिनाको गर्भवती भएको बताइन् । लेडी लोयल अस्पतालमा उनी शनिबार औषधि लिन आएकी थिइन् ।
अल्ट्रासाउन्ड गर्ने डाक्टरले शौचालयमा पिसाब गरेर आउनु भनेको महिलाले बताइन् । जब उनी फर्किइन्, डाक्टरले क्याबिन बन्द गरे र महिलालाई भित्री वस्त खोल्न भने । महिलाका अनुसार डाक्टरको हातमा कण्डम पनि थियो ।
यस कुराबाट महिला डराइन्, अल्ट्रासाउन्ड गर्न अस्विकार गरिन् । सो घटनापछि डाक्टर रिसाए, फारम फाल्दै उनले भने, ‘अल्ट्रासाउन्ड नगर्ने भए किन आयौँ ?’ महिलाले यो जानकारी आफ्नी सासूलाई दिइन् ।
लोहामण्डीमा बस्ने भाइलाई बोलाइन् । यो कुरालाई लिएर परिवारमा हंगामा मच्चियो । प्रहरीलाई ११२ नम्बरमा जानकारी गराइयो । प्रहरीले आएर परिवारलाई शान्त गरायो । बिरामीले प्रहरीमा उजुरी दिएकी छन् ।
यस विषयमा आरोपित डाक्टरले पनि आफ्नो बयान दिएका छन् । उनका अनुसार महिला पिसाब रोक्न सकिरहेकी थिइनन् र भ्रूण कम दिनको थियो । पिसाब थैली पूरै भरिएपछि मात्र पाठेघर स्पष्ट देखिन्छ । महिला केही दिनदेखि गर्भवती थिइन् ।
जसकारण पेटबाट अल्ट्रासाउन्ड हुन सकेको थिएन, यस्तो अवस्थामा योनिमार्गबाट अर्को तरिकाले अल्ट्रासाउन्ड गरिन्छ । पिसाब बाहिर नआओस् भनेर बिरामीलाई पिसाब गरेपछि आउन भनियो । कण्डमलाई अल्ट्रासाउन्ड स्क्यानरमा राखिन्छ, जसले गर्दा बिरामीमा भ्रम उत्पन्न भयो ।
प्रमुख अधीक्षक डा पञ्कज कुमारले यो अल्ट्रासाउन्डको एक प्रक्रिया भएको बताए । उनका अनुसार महिला भ्रमको सिकार भइन् । तर, बिरामीको उजुरीका आधारमा आन्तरिक अनुसन्धान पनि भइरहेको छ ।
यसका लागि वरिष्ठ काउन्सिलर डा ज्योत्स्ना भाटिया, बालरोग विशेषज्ञ डा आरके मिश्र र एनेस्थेसियोलोजिस्ट डा बीपी सिंहलाई अनुसन्धानको जिम्मा दिइएको छ । उनीहरुसँग ४८ घण्टाभित्र प्रतिवेदन माग गरिएको छ । प्रतिवेदन प्रशासन र सरकारलाई पठाइनेछ ।
लेडी लोयलले दैनिक ५० देखि ६० गर्भवती महिलाको अल्ट्रासाउन्ड सञ्चालन गर्छ । अस्पतालमा एकजना मात्रै रेडियोलोजिस्ट छन्, जसले गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्छन् ।
अल्ट्रासाउन्ड गर्दा कोठामा महिला कर्मचारी नियुक्त भए पनि उनी पनि घटनास्थलमा थिइनन् । प्रमुख प्रहरी उपरीक्षक महिला कर्मचारीको ड्युटी रहेको बताउँछन्, उनी कसरी उपस्थित भएनन् भनेर पनि प्रश्न उठाइएको छ ।