ओखलढुङ्गामा ढुङ्गाले किच्दा दाजु–बहिनीको मृत्यु भएको छ । गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको ढुङ्गाले किच्दा दाजु–बहिनीको मृत्यु भएको हो । आइतबार भएको सो दुर्घटनामा अन्य थप एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन् ।
सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुङ्गाले किच्दा ३५६९ नम्बरको बोलेरोमा सवार दाजु–बहिनी इशव कोइराला र युनिशा कोइरालाको मृत्यु भएको हो । सिद्धीचरण नगरपालिका १ का ७ वर्षीय युनिषा र १० वर्षीय इशव कोइराला जिपमा सवार थिए ।
सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किचेको थियो । सडक निर्माणका क्रममा सवारीसाधन आवागमन रोक्नु पर्ने भएपनि ठेकेदार सचेत नबनिदिँदा उनीहरूको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक लंक श्रेष्ठका अनुसार सो दुर्घटनामा मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगरको पनि मृत्यु भएको छ । उनका अनुसार जिपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् । स्काभेटर चालक फरार रहेकोले खोजतलास भइरेहको प्रहरीले जनाएको छ ।