गैँडाकोट।
गैँडाकोट नगरपालिका–१०, पितौंजीस्थित श्रीसिद्धिदात्री दुर्गा मन्दिर, कोटिहोम आश्रमको १० औँ अधिवेशन तथा २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
आश्रमका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एवं प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठक प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बुन्दु पहारी , गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइराला, योगी खेचरनाथ पीठाधीश तथा गैँडाकोट नगरपालिका–१० का वडाध्यक्ष देवीदत्त कँडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री पाठकले आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय भएको बताउनुभयो। उहाँले आश्रमलाई धार्मिक आस्थाको केन्द्रका रूपमा मात्र नभई ज्ञान, संस्कार, समानता र समतामूलक शिक्षाको प्रवाह गर्ने महत्वपूर्ण स्थलका रूपमा व्याख्या गर्नुभयो।
“आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालयहरू हुन्। जहाँ वेदका श्लोकहरू गुञ्जिन्छन्, गौमाताको पालन गरिन्छ, पशुपन्छीहरूको संरक्षण हुन्छ, समानता र समतामूलक शिक्षाको प्रवाह हुन्छ, ती ठाउँहरू सनातनी क्षेत्रहरू हुन्,” पाठकले भन्नुभयो।
उहाँको भनाइमा आश्रमहरूले आध्यात्मिक ज्ञान र संस्कारको संरक्षणसँगै पशुपन्छी संरक्षण तथा सामाजिक समानताको सन्देश प्रवाह गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्छन्।
आश्रमको १० औँ अधिवेशन तथा २६ औँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। सभामा आश्रमका गतिविधि, उपलब्धि तथा भावी योजनाका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, धार्मिक व्यक्तित्व, समाजसेवी तथा आश्रमसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो।

