काठमाडौं, मंसिर १९- अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा नवराज विकसहित ६ जनाको हत्या घटनाको मुद्दाको बहस सकिएको छ।
तीन वर्षअघि अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर भएको हत्याकाण्डको कर्तव्य ज्यान र जातीय छुवाछूतसम्बन्धी मुद्दामाथि रूकुम पश्चिमका जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि सुरु भएको निरन्तर सुनुवाइमा वादी र प्रतिवादी पक्षका वकिलको बहस मंगलबार सकिएको हो ।
मंगलबार दिउँसोसम्ममा २-२ जना जिल्ला सरकारी वकिल र उच्च सरकारी वकिलसहित २४ जनाले बहस गरेका छन् । वादी र प्रतिवादी दुवै पक्षका वकिलको बहस सकिएको पीडित पक्षको तर्फबाट बहस गरेकी अधिवक्ता कुञ्जनी परियारले जानकारी दिइन् ।
‘पक्ष र विपक्ष दुवैतर्फका वकिलको बहस सकिएको छ । अब फैसला कुरिरहेका छौं’, उनले भनिन्, ‘सम्भवतः आज साँझसम्म फैसला आउनसक्छ ।’
नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा घटनामा चौरजहारी-८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलिरहेको छ । उनीहरूमध्ये ११ जना तारेखमा छुटिसकेका छन् । २३ जना पुर्पक्षका लागि जेलमा छन् ।
२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीसहित मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरूमाथि स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । अरू १२ जना घाइते भएका थिए ।
घटनामा नवराज विकसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको हत्या भएको थियो । मृतकहरूको शव दुई हप्ता लगाएर भेरी नदी किनारबाट निकालिएको थियो ।
घटनाका सन्दर्भमा प्रहरीको अनुसन्धानपछि सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाउँदै रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रतिवादीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।
मुद्दाका अभियुक्तमध्ये जिल्ला अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। ११ जनालाई भने तारेखमा छाडिएको थियो।