काठमाडौं । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका लगाइएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०ः५१ बजेलाई शुभ साइत तय गरेको थियो। शुभ साइतमा दिदीबहिनीहरूले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिएका हुन्।
दाजुभाइहरूले पनि दिदीबहिनीहरूलाई आ—आफ्नो गच्छेअनुसारका दक्षिणा, उपहार, पक्वान्न आदि दिएर यो यो पर्व मनाएका छन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन रहिआएको छ।
दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए। भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।