चितवन, कात्तिक २५– संस्कृतिको जगेर्ना गर्न चितवन एमालेले देउँसीभैलो कार्यक्रम सुरु गरेको छ । उद्योग वाणिज्य संघ चितवन परिसबाट एमालले देउसीभैली सुरु गरेको हो ।
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि सुरु भएसँगै नेकपा एमाले जिल्ला कमिटी चितवनको आयोजनामा नेता तथा कार्यकर्ताहरु देउसीभैलोमा रमाएका छन् । देउँसीभैली कार्याक्रम आज उद्योग वाणिज्य संघहुँदै महानगपालिका– १ को नारायणी जेसीस भवन हुँदै भरतपुर–७, १० र ११ का विभिन्न ठाउँमा खेलेर सकिएको छ ।
कार्यक्रममा तिहारको शुभकामना दिँदै एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले सांस्कृतिकको जगेर्ना गर्ने उद्देश्यले देउँसीभैलो कार्यक्रम गरिएको जानकारी दिए । उनले देउँसीभैलो कार्यक्रम आजबाट सूरु भएको र आइतबार र सोमबारसम्म हुने जानकारी दिए । उनका अनुसार भोलि आइतबार खैरहनी नगरपालिका र राप्ति नगरपालिकामा कार्यक्रम हुनेछ भने सोमबार रत्ननगर नगरपालिका र कालिका नगरपालिकामा हुने छ । उनले भने, ‘तिहार उज्यालो पर्व हो । यसकारण सबैले मनदेखि मुलुकमा उज्यालो दिने र समृद्ध मुलुक बनाउने देउँसीभैलो खेल्न पर्छ ।’
उनले जून नेपालीहरुमा विविधताबीचको एकता छ यसलाई तिहारले अझ विशेष बनाउन मद्दत गर्नेमा विश्वास व्यक्त गरे । उनले भने, ‘अहिले मुलुक अप्ट्यारो परिस्थितिमा भएता पनि सांस्कृतिक पर्वलाई नयाँ उत्साहका साथ शुभकामना प्रदान गर्दै सबै व्यवसाय, गरिबजनताको हकहितका निम्ति नेकपा एमाले छ ।’ उनले समृद्ध सुखी नेपाल बनाउँन एमाले रहेको बताए ।
अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष तथा पार्टी प्रदेश कमिटीकी सदस्य विमला दुवाडीले तिहारको शुभकामना दिँदै सांस्कृतिकको जगेर्ना गर्नको लागि एमालेले देउँसीभैलो कार्यक्रम थालेको जानकारी दिइन् । उनले भनिन्, ‘देउँसीभैलो कार्यक्रम तीन दिनसम्म सञ्चालन हुन्छ । परापूर्व कालदेखि नै दउँसीभैलो खेल्ने चलन थियो । आज हामीले देउँसीभैलो खेल्नुको उद्देश्य सांस्कृतिक जगेर्ना गर्नु हो ।’ उनले देउसीभैलोबाट प्राप्त भएको दक्षिणा पार्टीको व्यवस्थापनका लागि प्रयोग हुने जानकारी दिइन् ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले एमालेले गरेको देउसीभैलो कार्यक्रमले देशको सांस्कृतिकको संरक्षण गरिदिएको भन्दै धन्यवाद व्यक्त गरे । उनले सांस्कृतिको प्रवद्र्धन गर्न सबै एकजुट भएर अघि बढ्न समेत सुझाव दिएका छन् ।