चितवन, कार्तिक २०-
चितवनका किसानहरुले तिहार लक्षित सयपत्री फूलको मालाको मूल्य निर्धारण गरेका छन् । व्यवसायीबाट उपभोक्ता ठगिने सम्भावना बढी हुने भन्दै यहाँका किसानहरुले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी मालाको मूल्य सार्वजनिक गरेका हुन् ।
बजारलाई एकरुपता ल्याउनका लागि खुद्रा मुल्य निर्धारण गरिएको फ्लोरिकल्चर एशोशियसन चितवनका अध्यक्ष तेजेन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार, एउटा मालाको सय रुपैयाँ मुल्य निर्धारण गरिएको छ । ‘यसपटक होलसेल मुल्य कायम गरिएको छैन । किसान र व्यापारीको आपसी कुराकानीमा किनबेच हुन्छ,’ उनले भने ‘एउटा मालाको मुद्रा मुल्य सय रुपैयाँ रेट राखेका छौँ ।’
फ्लोरिकल्चर एशोसियन नेपाल चितवन र केन्द्रको पनि आधिकारीक धारणा १०० रुपैयाँसम्ममा खुद्रा बिक्रि वितरण गर्ने निर्णय भएको उनले बताए । सयपत्री फुललाई प्रतिकेजि पाँच सय रुपैयाँ तोकिएको छ ।
समग्रमा चितवन फूलमा अझै आत्मनिर्भर हुन सकेको छैन । तिहारको समयमा एक लाख मालाको आयात गर्नुपर्ने सापकोटाको अनुमान छ । ‘चितवनमा तिहार लक्षित सयपत्री फूलको खेती ५० बिघामा भएको छ । यसबाट तीन लाखसम्म माला उत्पादन हुने देखिएको छ । यसपत्री फूलमा चितवन जिल्ला आत्मनिर्भर छ । तर सजावटमा अत्यधिक माग भएको खण्डमा हामीलाई यस फूलले नपुग्ने स्थिती पनि रहेको छ,’ उनले भने ‘सयपत्री फूल लगाउने माला र डेकोरेशनलाई चितवन जिल्लामा करिब चार लाख मालाको आवश्यकता हाम्रो आंकडा हो ।’
व्यवसायीबाट उपभोक्ता ठगिने हुँदा मुल्य कायम गरिएको संघका सचिव सुलभ श्रेष्ठले बताए । दुई बर्षअघि उपभोक्ताले तीन सय रुपैयाँ मूल्य तिरेका थिए । त्यसलाई रोक्नका लागि मूल्य कायम गर्न परेको उनको भनाई छ । एउटा मालाको सय रुपैयाँभन्दा बढी मुल्य नर्तिन उनले अपिल गरे । ‘फ्लोरिकल्चर एशोसिएसनले तोकेभन्दा बढी मूल्यमा बिक्रि वितरण हुन सक्छ । यसमा स्थानीय पालिका तथा जिल्ला प्रशासनलाई निगरानी र नियन्त्रणका लागि अपिल गर्दछौँ’–उनले भने । उनले प्लाष्टिक जन्य फूलमालाका गुच्छाहरु बजारमा अत्यधिक मात्रामा देखिन थालेकाले त्यसलाई नियन्त्रण गरि कारबाही गर्न माग गरे ।
चितवनमा यसपटक सयपत्रि फुल तिहार अघि नै फुलिसकेको छ । सयपत्री फूलको मालालाई सात दिनसम्म स्टोरेज गरेर राख्न मिल्छ । किसानले नेपाली मालालाई प्रोत्साहन गर्न व्यवसायीलाई अनुरोध गरेका छन्। भारतबाट सस्तोमा ल्याएर व्यवसायीले किसानसंग बार्गेनिङ गर्ने गर्दछन् । त्यसलाई रोक्न मुल्य कायम गर्नुपरेको किसान सुजता देवकोटाले जानकारी दिईन् ।
तिहारपछि सयपत्री फूलको माला मुल्य समेत घट्ने गर्दछ । किसानले सो समयमा ५० रुपैयाँसम्ममा बेच्ने गरेका छन् । तिहारको समयमा किसानले मुल्य बढी पाउने गर्दछन् । एउटा माला उत्पादन गर्न ३० रुपैयाँ लागत पर्ने किसानहरु बताउँछन् । तर उनीहरुले तेब्बर नाफा राखेर खुद्रा मुल्य निर्धारण गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीेले होलसेल मुल्य ७० देखि ८० रुपैयाँमा बिक्रि गर्ने जनाएको छ । उसले १० विगाहा क्षेत्रफलमा खेती गरेको छ । लायन्सचोक, चौविसकोठि, मालपोतचोक र हाकिमचोकमा स्टल राख्ने समेत आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको थियो ।
तिहारको समयमा मात्रै जिल्लामा तीन देखि चार करोड रुपैयाँसम्म कारोवार हुने गर्दछ । चितवन फूल उत्पादनमा उत्कृष्ट जिल्ला नै मानिन्छ । यहाँ एउटै किसानले छ विघासम्ममा फूल खेती गर्दै आएका छन् । चितवनमा सय जना किसानले सयपत्री फूलको खेती गर्दै आएको फ्लोरिकल्चर एशोसियनले जनाएको छ ।