चितवन । ४३औं विश्व खाद्य दिवस चितवनमा असोज २० र २१ गते विभिन्न सवालहरुमा संवाद तथा अन्तरक्रिया कार्यक्रम सहित मनाइने भएको छ । खाद्यका लागि कृषि अभियानले शुक्रबार पत्रकार सम्मेलन गरी यसपटकको खाद्य दिवसका कार्यक्रमबारे जानकारी दिएकाे हाे ।
भाेलि विहान नारायणगढदेखि चौबिसकोठीसम्म प्रभातफेरि कार्यक्रम र बेलुका रामपुर क्याम्पसमा नाटक मञ्चन हुनेछ । त्यस्तै असोज २१ गते आइतबार रामपुर क्याम्पसमा कार्यशाला र सोही दिन बेलुका रैथाने साँझ कार्यक्रम हुने भएको छ ।
हरेक वर्ष अक्टोबर १६ तारिकमा पर्ने खाद्य दिवस यसपटक ‘हाम्रो पहलः पानी नै खाना र जिवन हो’ भन्ने मुल नाराका साथ मनाउन लागिएको हाे । यसपटकको खाद्य दिवसले स्वस्थ र पोषणयुक्त खान सक्षम बनाउँदै स्वाभिमानसहित बाँच्नका लागि एकजुट हुन प्रेणा दिन सक्ने कृषि अभियानकी सचिवालय सदस्य शारदा थापाले जानकारी दिइन् ।
नेपालको खाद्य प्रणाली पछिल्लो समय झनै विषाक्त र कमजोर हुँदै आयातित बन्न पुगेको थापाले बताइन् । ‘हाम्रो उत्पादन आवश्यक रुपमा बढ्न सकेको छैन, मात्रा र पौष्टिकताका हिसाबले पत्रु खानामा खर्च बढिरहेको छ,’ उनले भनिन्, ‘आम नागरिकले विषरहित पोषिलो खाना खान पाउने अवस्था बनाउन माटो र समग्र प्रकृति जीवन्त राख्न प्रकृतिसम्मत कृषि प्रणाली अपनाउने कुरा महत्वपूर्ण छ।’
मानिसले चाहेमा रसायन रहित खेतिपातीबाट विषमुक्त र पोषणयुक्त खाना सधैँका लागि उपलब्ध गराउन सकिने उनले बताइन् ।
कार्यक्रममा बोल्दै कृषि तथा वन विज्ञान रजिष्ट्रार शारदा थपलियाले आफूलाई आवश्यक खाद्य आफैे उत्पादन गर्न तर्फ ध्यान दिन आवश्यक रहेको बताइन् । कुल ग्राहस्थ उत्पादनको २४ प्रतिशत मात्रै कृषि क्षेत्र रहेको उनले जानकारी दिइन् ।
विदेशिने नेपालीको संख्या कम गरेर खेती गर्ने मान्छे स्वदेशमै नरहेसम्म उत्पादन बढाउन नसकिने उनले बताइन् । ‘जबसम्म खेती गर्ने मान्छे नेपालमा बस्दैनन् तबसम्म उत्पादन बढाउन सकिँदैन्, थपलियाले भनिन्, पहाडको खेतीयोग्य जमिन बाँझो भयो, तराईको जमिन खण्डहर बन्दै गइरहेकको छ ।’




