दाङ,साउन २३-
सल्यानमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षकी आमा शारदा भण्डारीको आज हत्या गरेको सल्यान प्रहरीले जनाएको छ ।
सल्यान प्रहरी प्रमुख डिएसपी दामोदर केसीका अनुसार नवीन आफूलाई देउता चढेको भन्दै बिहान ४ बजे बुवाआमा सुतेको कोठामा काँप्दै प्रवेश गरेका थिए । विभिन्न धार्मिक तन्त्रमन्त्र जप्दै नवीनले कोठामै रहेको पैयाँको लठ्ठीले आमाको टाउको अन्धाधुन्ध प्रहार गर्दा मृत्यु भएको हो ।
नवीनले २ दिन अघिदेखि नै आफूलाई देवता चढेको भन्दै आएको उनका बाबुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आमाको हत्या गरेका नवीनलाई बिहान ६ बजे प्रहरीले पक्राउ गरिसकेको छ ।