दिलबहादुर केसी, कारोबार,दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५, सुरीमा रहेको मयूर साना किसान सहकारी संस्थाले सरकारी अनुदान लिएर गाईपालन गरे पनि अनुदान लिएपछि गोठबाट गाई नै गायब भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा कृषि ज्ञान केन्द्र रामेछापमार्फत किबी खेती, दुईवटा बाख्रा फार्म र गाईपालनका लागि ९५ लाख लगानी भएको छ । सहकारीले छुट्टाछुट्टै उपसमूह बनाएर सुरु गरेको काम तिनेखुमा गाई गोठ बनाएर आर्थिक वर्षको अन्तिममा अनुदान लिने बेला गाई हालेर असोजसम्म पालेर बिक्री गरेका छन् । त्यसपछि गाई गोठ खाली छ । ७० प्रतिशत अनुदान लिएर सुरु गरेको गाई गोठमा असोजसम्म १० वटा गाई थिए । गाई गोठमा काम गर्ने कामदार पनि बाहिरबाटै ल्याए, तर अनुदान लिएपछि समूहले गाई बिक्री गरी गोठ खाली गरेको छ । “खेती हामी गर्छौं, पैसा लगानी गर्न सक्दैनौं भनें, पत्याएनन्,” स्थानीय वीरबहादुर तमाङले भने, “गोठ बनाउने काम त हामीले पनि ग¥यौं, तर गाई हेर्ने गोठालोसमेत उतैबाट ल्याए ।” गाईपालन उपसमूहमा स्थानीय शिक्षक, जनप्रतिनिधि र पार्टी कार्यकर्ता संलग्न छन् । सहकारीले साढे ४ सय रोपनीमा किबीखेती, ६० रोपनीमा सामस्हिक केरा खेती पनि गरेको छ । पशुपालनभन्दा किबी र केराखेती राम्रो छ । केही बोटले फल दिन पनि थालेका छन् । दुईवटा बाख्रा फार्मका बाख्रा पनि घटेर आधा भएका छन् । बाख्रापालनका लागिसमेत गोठालाहरू बाहिरबाट ल्याउने र सीमित व्यक्ति मात्र उपसमूहमा रहेकाले स्थानीयलाई समेत यसबारे चासो छैन । चालू आर्थिक वर्ष पनि सोही सहकारीलाई किबीमा थाँग्रा र बाख्रा फर्मका लागि ५० लाख अनुदान थप गरेको छ । कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङ पनि अनुदानको गाई लिएपछि हराएकोमा आक्रोशित भइन् । “हामीले अनुदान दिने बेला अनुगमन गर्दा गोठमा गाई थियो,” उनले भनिन्, “यो वर्ष पनि थप अनुदान भएकाले अनुगमन गर्न जाँदा गाई नदेख्दा अचम्म लागेको छ ।” राज्यको पैसा लिएर फर्म चलाउँछु भन्ने अनि गाई बेचेर खाएकाले कि त फेरि फर्ममा गाई हाल्नुपर्छ, अन्यथा राज्यको पैसा फिर्ता गर्नुपर्ने उनले बताइन् । गत आर्थिक वर्ष २०७८/७९ मा समेत कृषि ज्ञान केन्द्रले ५० लाख सोही सहकारीमार्फत सामूहिक खेती प्रवद्र्धनका लागि गरेको थप अनुदान पनि कार्यप्रगति सन्तोषजनक नभएको भन्दै ६० प्रतिशत भुक्तानी गरेको छैन ।
कार्यप्रगतिभन्दा गाउँपालिकाबाटै बढी भुक्तानी
सहकारीले सोही वडामा बागमती प्रदेश सरकार र गौरीशंकर गाउँपालिकाको साझेदारीमा आर्थिक वर्ष २०७६/०७७ मा ८० प्रतिशत अनुदानमा तरकारी, फलफूल र जडीबुटीजन्य बेर्ना उत्पादन गर्ने गरी हाइटेक नर्सरी निर्माणका लागि हाइटेक नर्सरी सुरु भयो । त्यसका लागि २०७७ असार २५ मा पूरा गर्ने गरी २०७६ फागुन २१ मा सम्झौता गरेमा १ करोड २ लाख ८१ हजार ७ सय २६ कार्यप्रगति भए तापनि गाउँपालिकाबाट पहुँचका आधारमा १ करोड ७९ लाख ५० हजार भुक्तानी लिएको छ ।
२० प्रतिशत अनुदान सहकारीले बेहोनुपर्नेसहित हिसाब गर्दा महालेखा परीक्षकको कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा ९७ लाख २४ हजार ६ सय १९ असुल गर्नुपर्ने उल्लेख गरेको छ ।
पुरानो बेरुजु असुल गर्ने जिम्मा प्रमुख प्रशासकीय अधिकृतको हो । तर, आर्थिक वर्ष २०७७÷०७८ मा सम्परीक्षणका लागि कागजात जुटाएर सम्परीक्षण गराउँदासमेत ४१ लाख ६२ हजार ७ सय ४५ रुपैयाँको प्रमाण सहकारीले जुटाउन नसक्दा असुल गर्नुपर्ने महालेखाले गाउँपालिकालाई राय दिएको छ ।
गाउँपालिकाले पनि यसलाई ताकेता जारी राखेको छ । गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले बेरुजु असुलका लागि ताकेता गरिरहेको बताए । हाइटेकसँगै गाई फर्म पनि गर्ने भनेर गोठ बनाइएको छ तर त्यहाँ गाई अहिलेसम्म हालिएको छैन । हाइटेक नर्सरी अत्याधुनिक प्लास्टिकबाट बनेको र बिरुवालाई सिँचाइका लागि अत्याधुनिक प्रविधिमार्फत सोझै सिँचाइ गर्ने गरी पाइप जडान गर्नुपर्ने हो । तर, त्यसले काम नगर्दा अहिले कामदारले नै पानी हाल्ने गरेका छन् । टनेल धेरै ठाउँ च्यातिसकेका छन् ।
अम्बा र केही टिमुरका बिरुवा स्थानीय स्तरमा उत्पादन भए । कात्तिकसम्म टनेलभित्रका धेरै ठाउँ झार उम्रेका थिए । हाइटेकमा बिरुवा नभएपछि महालेखाले बेरुजु राखेपछि देखाउनकै लागि भए पनि गएको मंसिरमा काठमाडौंका निजी नर्सरीबाट बिरुवा खरिद गरेर हालेका छन्, जुन कुरा टनेलमा काम गर्ने कर्मचारी पनि स्विकार्छन् ।
सहकारीमा ५७ जना सेयर सदस्यबाट न्यूनतम २५ हजारदेखि १ लाखसम्म संकलन गरी २३ लाख ५८ हजार संकलन गरियो । त्यो रकम २० प्रतिशत लागत सहभागितामा लगानी गरिएको छ । त्यसको पनि हिसाब स्वयम् सेयर सदस्यलाई थाहा छैन ।
सहकारीभित्र भ्रष्टाचार भएको विषयमा आन्तरिक छानबिन समिति बनायो । त्यसले पनि अनियमिता भएको रिपोर्ट दिएको छ । तर, त्यो सार्वजनिक गर्न कोही राजी छैन ।
सहकारीका अध्यक्ष लालबहादुर खड्काले किबी र केराखेतीमा सफल भए तापनि गाईपालन र बाख्रापालनमा असफल भएको स्वीकार गरे । उपसमितिमार्फत गाईपालन भएकाले दूध कम दिएकाले गाई बेचेको र त्यहाँ फेरि अरू गाई ल्याउने बताए । हाइटेकबाट आफूले उत्पादन गरेको धेरै बिरुवा यस वर्ष बिक्री गरेको समेत उनले जानकारी दिए ।
तर उनैले नेतृत्व गरेको आधुनिक कृषि सहकारी संस्थाले १२ वर्षअघि पनि गाईपालन, गाउँमा डेरी सञ्चालन र ट्रकसमेत किनेका थिए । त्यो सहकारीको अहिले कुनै हिसाबकिताब छैन । आधुनिक कृषि सहकारी डुबाएपछि अनुदानका लागि मयूर साना किसान कृषि सहकारी संस्था गठन गरेको स्थानीयहरूको भनाइ छ ।आर्थिक वर्ष २०७७/०७८ मा कृषि ज्ञान केन्द्र रामेछापमार्फत नै मयूर साना किसान सहकारीले २० लाख अनुदान लिएर सुरीडाँडामा निर्माण भएको रस्टिक हाउससमेत सञ्चालन हुन सकेको छैन ।



