साउन २५ , चितवन । चितवन जिल्ला अदालतले बुधबार भरतपुर- १२ का २८ वर्षीय अनिल परियार (कान)को हत्याको आरोपमा दुई जना अभियुक्तहरुलाई पुर्पक्षको लागि थुनामा पठाएको छ भने अर्का अभियुक्तलाई धरौटीमा रिहा गरेको छ।
भरतपुर–७ स्थित कृष्णपुर खेल मैदाननजिकै २०७९ वैशाख २५ गते साँझ ७. ३० बजेको समयमा अज्ञात समूहले परियारलाई हतियार प्रयोग गरी हत्या गरेको चितवन प्रहरीले जनाएको छ ।अदालतले विश्व भन्ने हेमन्त वास्तोला र राहुल परियार भन्ने सुनिल राउत पुर्पक्षको लागि थुनामा पठाएको छ भने बिक्रम भन्ने रोहित प्रसाद सिलवाल २० हजार धरौटीमा रिहा गरेको छ।
अदालतमा भएको बहसमा आरोपितहरु जसमा कानको हत्या गरेको आरोप लागेका अजय सिंह भन्ने अशोक भण्डारी (फरार), मार्न निर्देशन दिने हेमन्त बास्तोला (पक्राउ), तिलक गैरे (फरार) र मृतकको भाइ राहुल परियार भन्ने सुनिल राउत (पक्राउ) लाई जन्मकैद सजाय मागदाबी गरिएको थियो। यस्तै घटनामा कानको हत्या गर्न निर्देशन दिएको आरोप लागेका विक्रम भन्ने रोहित सिलवाल (पक्राउ) र सुशान्त उप्रेती (फरार)लाई जन्मकैदको आधा सजाय हुने माग गरिएको थियो।
घटना भएको एक महिनापछि जेठ २४ गते बास्तोला, सिलवाल र राउत पक्राउ परेका थिए । अन्य ३ जना अझै फरार छन्। मृतकको दाइ सागर परियारले दिएको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ ।



