काठमाडौंको बालाजुस्थित बाइसधारामा आगलागी भएको छ । जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आगलागीमा मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।





गृहमन्त्री बालकृष्ण खाणले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग जानकारी लिएका छन्।
उनले थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण तथा अन्य व्यवस्थापन गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि निर्देशन दिएका छन् । गृहमन्त्री खाणले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजिपी) रवीन्द्रबहादुर धानुक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौं जिल्लाका सुरक्षा प्रमुखलाई यथाशक्य छिटो आगलागी नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
एआइजी धानुकले गृहमन्त्रीको निर्देशनअनुरुप थप शक्ति पठाएर आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको जानकारी गराए । काठमाडौंका प्रजिअ रिजालले विद्युत् सट भएर सो आगलागी भएको जानकारी दिए ।




