वीरगन्ज : बारामा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोह नै पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीको घटना बढेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले मोटरसाइकल चोरीमा संलग्न ६ जनालाइ पक्राउ गरेको हो।
प्रहरीले चोरीका १२ वटा मोटरसाइकल पनि बरामद गरेको छ। चोरीको मोटरसाइकलसहित पक्राउ परेकालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।
बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार यही साउन १९ गते बाराको बरियारपुरबाट दुई थान मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा पचरौता नगरपालिका-७ बेनौलीका २१ वर्षीय विशाल कुमार सहनी र २० वर्षीय भोला पटेललाइ पक्राउ गरिएको थियो।
प्रहरी हिरासतमा रहेका उनीहरूको बयानका आधारमा मोटरसाइकल चोरीको गिरोहमा संलग्नहरूको नाम खुलेपछि प्रहरीले अन्य चारजनालाई पनि पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सहनी र पटेलका साथै बेनौलीकै २० वर्षीय वृजमोहन साह सोनार, २० वर्षीय विजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनी रहेका छन्। उनीहरूको साथबाट चोरी गरि लुकाएर राखिएका नेपाली र भारतीय गरि विभिन्न ब्राण्डका मोटरसाइकल बरामद गरिएको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिए।




