काठमाडौँ – शेयर बजारमा लगानी गरेर धेरै नाफा कमाउन खोज्दा नेपाल इन्भेष्टमेन्ट बैंक चुर्लुम्मै डुबेको छ । बजार ओरालो लाग्दा बैंक नसोचेको घाटामा गएर चुर्लुम्मै डुबेको हो ।
सेयरमा गरेको लगानीबाट गत आर्थिक वर्ष २०७८/७९ मा बैंकको दुई अर्ब २२ करोड रुपैयाँ डुबेको हो । सेयर बजारमा रहेको लगानीमा कागजी नाफा घाटा (फेयर भ्यालुका आधारमा नाफा नोक्सान) कति छ भनेर देखाउँदा बैंकको दुई अर्ब २२ करोड रुपैयाँ डुबेको देखिएको छ ।
बैंकले सार्वजनिक गरेको विवरणमा यति ठूलो नोक्सान देखिएको हो । आर्थिक बर्ष २०७७/७८ मा बैंकले २ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको थियो ।
पुँजी अभाव भएको भन्दै लगानी नगरेको बैंकले शेयरमा गरेको लगानी डुब्दा निकै आलोचना खेप्नु परेको छ । १९ वटा वाणिज्य बैंकले सार्वजनिक गरेको विवरणमा १३ वटा बैंक नोक्सानमा गएका छन् ।
सबैभन्दा धेरै नोक्सान नेपाल इनभेष्टमेन्ट बैंकको देखिएको छ भने लक्ष्मी बैंकको नोक्सान सबैभन्दा कम छ । लक्ष्मीले गएको आर्थिक बर्षमा १९ लाख रुपैयाँ नाक्सान व्यहोरेको छ ।
बैंकहरूले कुनै एक संस्थाको सेयर, ऋणपत्र वा कुनै सामूहिक लगानी कोषमा लगानी गर्दा आफ्नो प्राथमिक पुँजीको १० प्रतिशतमा नबढ्ने गरी र सबै संगठित संस्थाको सेयर, ऋणपत्र वा सामूहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सक्ने कानुनी व्यवस्था छ ।




