रत्ननगर । चितवनको रत्ननगरमा बुहारीलाई जबर्जस्ती करणी गरेर फरार रहेका एक व्यक्ति पाँच महिना बितिसक्दा पनि पक्राउ पर्न सकेका छैनन् । बुहारीले जाहेरी दिएपछि प्रहरीले उनको खोजी गरिरहेको छ । रत्ननगर–१५ निवासी २७ वर्षीया एक महिलाले वैशाख १६ गते इलाका प्रहरी कार्यालय टाँडीमा आफ्ना ससुराविरूद्ध किटानी जाहेरी दिएकी हुन् ।
ससुराले आफूलाई दुईपटक जबर्जस्ती करणी गरेको आरोप ती महिलाले लगाएकी छन् । घटना चैत १७ र २१ गते भएको हो । देवर नभएको मौका छोपी पहिलोपटक चैत २७ गते ससुराले आफूलाई जबर्जस्ती करणी गरेको उनले बताइन् । दोस्रोपटक २१ गते करणी गरेको आफूलाई थाहा भएको र त्यसपछि लगातार एक महिनासम्म बेहोस हुने औषधि खान दिएर करणी गरेको ती महिलाले बताइन् ।
ससुराको अत्याचार सहन नसकेर उनी माइतीको शरणमा पुगिन् । घटनाबारे काठमाडौँमा रहेकी दिदीलाई जानकारी गराएपछि वैशाख १६ गते पीडित पक्षले प्रहरीमा जाहेरी दिएका हुन् । बुहारीले आफूविरूद्ध जाहेरी दिएलगत्तै आरोपित फरार रहेका छन् । उनका श्रीमान् रोजगारीका लागि तीन वर्षअघि भारत गएका थिए । सासू बितिसकेका कारण ससुरा, देवर र दुई छोरीसँगै ती महिला बस्दै आएकी थिइन् । देवर नभएको मौका छोपी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको बुहारीको आरोप छ ।
ससुराबाट करणी भएर पीडित बनेकी ती महिला र उनका दुई छोरीको अहिले बिचल्ली भएको छ । माइतीको शरणमा पुगेकी उनलाई त्यहाँ बस्न पनि सहज छैन । आमा बिरामी र बुबाले दिनरात रक्सी सेवन गर्ने गरेका कारण त्यहाँ बस्न सहज नभएको उनी बताउँछिन् । पीडित महिला अहिले रत्ननगरको एक होटलमा काम गर्छिन् ।
दुई छोरीको लालनपालनका लागि होटलमा काम गर्न थालेको उनले बताइन् । न्यायका लागि उनले सबैसँग हारगुहार गर्दै आएकी छन् । प्रहरी, महिला अधिकारकर्मी र पत्रकार सबैलाई उनले भेटेर आफूमाथि घटेको घटना सुनाउँछिन् । ‘मलाई अब सम्पत्ति चाहिँदैन’, उनले भनिन्, ‘न्याय चाहिएको छ ।’
‘१७ गते बेलुका ६ बजेको थियो, दुई छोरी ससुराको कोठामा टिभी हेर्दै थिए । तिनीहरु झगडा गरेपछि म त्यहाँ पुगेँ’, घटना सुनाउँदै उनले भनिन्, ‘म त्यहाँ पुगेपछि दुई छोरीलाई पाँच–पाँच रूपैयाँ दिएर ससुराले बाहिर पठाउनुभयो, त्यसपछि हातले मुख थुनेर मलाई जबर्जस्ती करणी गर्नुभयो ।’ कराइस् भने तेरा छोरीहरु मार्दिन्छु भनेपछि आफू निरीह भएर चुपचाप बसेको उनले बताइन् । छोरी मार्ने धम्की दिँदै आफूलाई ससुराले करणी गरेको पीडित महिलाले बताइन् ।
‘चैत २१ गते राति ९ बजे ससुरा घर आउँदा म ढोका लगाएर सुतिसकेकी थिएँ । बाहिरबाट ढोका हानेपछि म उठेर खाना खान दिएँ’, दोस्रो घटना सुनाउँदै उनले भनिन्, ‘त्यो दिनपछि भान्साबाट तानेर लग्दै कोठामा करणी गरे । म धेरै रोएँ, कराएँ तर मेरो केही लागेन’, उनले भनिन्, ‘छोरीहरुलाई मार्दिन्छु भनेपछि पीडा सहेर बसेँ ।’ दुईपटकसम्म जबर्जस्ती करणी भएपछि आफू बिरामी भएको ती पीडित महिलाले बताइन् ।
चैत २१ गते राति ९ बजे ससुरा घर आउँदा म ढोका लगाएर सुतिसकेकी थिएँ । बाहिरबाट ढोका हानेपछि म उठेर खाना खान दिएँ’, दोस्रो घटना सुनाउँदै उनले भनिन्, ‘त्यो दिनपछि भान्साबाट तानेर लग्दै कोठामा करणी गरे । म धेरै रोएँ, कराएँ तर मेरो केही लागेन’, उनले भनिन्, ‘छोरीहरुलाई मार्दिन्छु भनेपछि पीडा सहेर बसेँ ।’ दुईपटकसम्म जबर्जस्ती करणी भएपछि आफू बिरामी भएको ती पीडित महिलाले बताइन् ।
‘औषधि खाएपछि ज्वरो निको भयो, पछि सिटामोल हो भन्दै बेहोस हुने औषधि खुवाएर उनले करणी गरे । बेलुका बेहोस भएपछि बिहान ९ बजे होस खुल्थ्यो’, घटनाबारे सुनाउँदै उनले भनिन्, ‘होसमा आउँदा खुट्टा टेक्नै सक्थिनँ ।’
अहिले श्रीमान्को पनि साथ नभएकी उनी न्यायको खोजीमा छन् । डेढ महिनाअघि श्रीमान् भारतबाट घर आएका छन् । श्रीमान्ले पनि उनलाई वास्ता गरेनन्, उल्टै बुबालाई फसाउन खोजेकी भनेर धम्क्याए । बुबालाई मैले लुकाएको छु, तैँले प्रहरीमा उजुरी दिएर केही हुनेवाला छैन भनेर पटकपटक टेलिफोनमा श्रीमान्ले धम्की दिने गरेको उनले बताइन् । ‘अब त प्रहरीको पनि विश्वास हराउँदै गयो’, उनले भनिन्, ‘पाँच महिना हुँदा पनि पापी भेटिएन ।’
उनी अब श्रीमान्सँग बस्ने अवस्थामा छैनन् । उनले सम्बन्धविच्छेद मागेकी छन् । ‘श्रीमान्ले सम्बन्धविच्छेद गर्न पनि मान्दैनन्’, उनले भनिन्, ‘अब मलाई तिनीहरुको सम्पत्ति चाहिँदैन, मलाई न्याय चाहिएको छ ।’ आफूलाई करणी गर्ने ससुरालाई जन्मकैदको माग उनले गरेकी छन् । ‘त्यसलाई फासी दिएमात्रै मेरो मनमा शान्ति हुन्छ’, उनले भनिन्, ‘न्यायका लागि मैदानमा आएको छु, सकेसम्म लड्छु ।’
इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रविनबाबु रेग्मीले आरोपित बोहराको खोजीकार्य भइरहेको बताए । भारतमा लुकेर बसेको अनुसन्धानबाट जानकारी हुन आएको भन्दै उनले त्यहाँको प्रहरीसँग सहकार्य गरेर पक्राउ गर्ने तयारी भइरहेको बताए । बोहराको खोजीका लागि जिल्लाको सिभिल टोली परिचालन गरिएको छ । भारतको यही घरमा छन् भन्ने यकिन हुन नसकेका कारण पक्राउ गर्न नसकिएको उनको भनाइ छ ।




