बर्खाको बेला छ। कतै बाढी त कतै पहिरोले मानवीय र भौतिक क्षति पुर्याइरहेको छ। कतै नदी अनियन्त्रित भएर बस्तीमा पसेको छ त, कतै पुरानो धार समात्दा मानव बस्तीमा क्षति पुगेको छ। बाढी पस्ने डरले कतै स्थानीयवासीको निन्द्राभोक हराएको छ। ‘आकाशतिर हेर्दै, भगवान् पुकार्दै’ दिन कटाउनु परिरहेको छ। सरकारलाई पक्कै पनि थाहा हुनुपर्ने हो। बाढी र पहिरोको जोखिम कहाँ के कति छ भनेर ?
तर, जब बर्खा लाग्छ, सरकारलाई तातो लाग्छ। बर्खा सकियो, कर्तव्य पूरा भयो। यही बुझाइमा छ, सरकार। एकअर्थमा भन्दा सरकारको काम उद्धार र तथ्यांक संकलनमा मात्रै सीमित छ। तर, केही यस्ता बस्ती छन्, जहाँ जतिसुकै बेला बाढी र पहिरो जाने डर छ। कतिखेर बाढी आउँछ र बस्तीलाई निल्छ भन्ने अनिश्चित छ।
रातभर जाग्राम
गुलरिया–५ बालापुरकी मनकुमारी चौधरीको बबई नदीकै मुख नजिकै कच्ची घर छ। भन्छिन्, ‘पानी पर्न थाल्यो कि मुटुले ठाउँ छोडछ। रातभर सुत्न पाउँदिन।’ वर्षाका बेला जीउज्यान कसरी जोगाउने भन्ने चिन्ताले हरेक वर्ष पिरोल्ने उनी बताँछिन्। ‘पानी परेपछि पटक–पटक नदीको अवस्था बुझ्न जान्छु,’ मनकुमारीले भनिन्, ‘राति बाढी आउँछ कि भनेर जाग्राम बस्छौं। आइहाल्यो भने कसरी सुरक्षित हुने र घरका सामान ओसार्ने भनेर चनाखो भएर बस्नुपर्छ।’ यो पीडा मनकुमारीको मात्र होइन, सिंगै बालापुरवासीको हो।
बालापुर क्षेत्रमा तटबन्ध नगरिएका कारण यहाँको बस्ती उच्च जोखिममा छ। बर्खाको बेला अनियन्त्रित भएर बबई नदी बहने गरेकाले आफूहरूलाई नदीको सधैं पिरलो हुने गरेको मनकुमारी बताउँछिन्। धेरै पानी पर्यो भने बालबालिका, वृद्धवृद्धादेखि वस्तुभाउ पनि सुरक्षित स्थानमा सार्ने गरिन्छ। त्यसकै लागि गाउँमा एउटा सेल्टर हाउस बनाइएको छ।
बर्दियामा बबई भादा औरही नदीका कारण ठाकुरबाबा, मधुवन, गुलरिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका बाढी र कटानको उच्च जोखिममा पर्ने गर्छन् ्। तत्कालिन सिँचाइमन्त्री सञ्जयकुमार गौतमका पालामा बबई भादा औरही नदी आयोजनाको कार्यालय सदरमुकाम गुलरियामा स्थापनापछि नदी तटबन्धको काम सुरु भएको थियो। तर, बजेट अभावका कारण देखाउँदै उच्च जोखिमयुक्त क्षेत्रमा अझै पनि तटबन्ध गरिएको छैन।
बबई मात्र नभई कर्णाली नदीका कारण पनि बर्खाका बेला बर्दियाका विभिन्न भाग डुबान र कटानमा पर्ने गर्छन्। राजापुर–४ का छप्पुराम थारूले कर्णाली नदीको बहावका कारण राजापुर–१ को टिउनी, वडा नम्बर ३ को तीघ्रा र सत्तीपुल नजिकको क्षेत्र बाढीको उच्च जोखिममा रहेको बताए। कर्णाली नदी व्यवस्थापन आयोजनाले केही क्षेत्रमा तटबन्धन गरेको थियो। तर, पानीको उच्च बहावले तटबन्ध नै भत्काइदिएको छ।
तत्कालै दीर्घकालीन योजना बनाएर नदी नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ। बर्खाको समय नसकिएकाले कर्णाली नदीको जोखिम अझै रहेको राजापुरका नगरप्रमुख दिपेश थारूले बताए। कर्णाली नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनका लागि १ अर्व ७ करोड बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा लेखी पठाएको थियो। तर, अर्थमन्त्रीको विवादले फाइल अघि नबढेको नगरप्रमुख थारूले बताए। कर्णाली जलाधार क्षेत्रको मुहानमा अवस्थित गेरुवा गाउँपालिका झनै जोखिममा छ।’ गेरुवामा पर्ने सरखोल, भटेरा, राजीपुर, बनघुस्रा, सनकट्टीलगायतका गाउँहरू नदी पस्ने जोखिममा रहेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताए।
तिनाउ छेउका बस्ती जोखिममा
बुटवलस्थित तिनाउ नदीको बहाव क्षेत्र निकै खुम्च्याउँदै बस्ती बसेको छ। त्यसैकारण यहाँको बस्ती बाढीको उच्च जोखिममा छ। पहिले किलोमिटरमा रहेको बहाव क्षेत्र अहिले मिटरमा खुम्चिएको छ। नदी खुम्च्याउँदै के–कति घर बनाइएका छन् भन्ने तथ्यांकसमेत स्थानीय सरकारसँग छैन।
नदी दोहन र अतिक्रमणकै कारण तिनाउ आसपासका क्षेत्र जोखिममा परेको हो। पछिल्ला वर्षहरूमा मजुवा क्षेत्रमा तिनाउले तीव्र कटान गरिरहेको छ। जसका कारण माझगाउँ बस्ती उच्च जोखिममा छ। बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री बाढी आउँदा आसपासका नागरिक त्रसित हुनुपर्ने अवस्था रहेको बताउँछन्।
नदी कटानका कारण बुद्धनगर क्षेत्रमा घरहरू झुन्डिएका जस्ता देखिन्छन्। तर, त्यहाँ पनि मानिसहरू बस्न छोडेका छैनन्। तिनाउको दायाँ–बायाँको उकास क्षेत्रमा सुकुम्बासीका नाममा अतिक्रमण बढेको छ। अनियन्त्रित बस्तीलाई व्यवस्थित गर्नुको सट्टा नदीको वहाव क्षेत्र साँघुर्याएर नियन्त्रणको काम भइरहेको छ। २०६६ सालबाट सुरु भएको नियन्त्रणमा १ अर्ब रूपैयाँ खर्च भइसकेको छ। तिनाउ नदी अतिक्रमण गरेर बस्ती बस्न थालेको १५ वर्षजति भएको स्थानीयवासीहरू बताउँछन्। नदी दोहनले पूर्व–पश्चिम राजमार्गको पुलसमेत जोखिममा परेको छ। पुलको जमिनमुनिको फाउन्डेसन चार मिटर जति बाहिर देखिएको सडक विभागका अधिकारीहरू बताउँछन्।
वर्षात्को समय भएकाले कतै बाढी त कतै पहिरोले मानवीय र भौतिक क्षति पुर्याइरहेको छ। नदी अनियन्त्रित भएर बस्तीमा पसेका छन्। बाढी पस्ने र पहिरो खस्ने डरले धेरै स्थानीयवासीको निन्द्राभोक हराएको छ। मुलुकमा यो समस्या नयाँ भने होइन। तर, यसको दीर्घकालीन समाधानमा सरकारको चासो देखिँदैन। मात्रै राहत र उद्धार केन्द्रित निर्णय हुन्छन्। नदी आसपास र जोखिममा रहेका बस्तीको उचित व्यवस्थापन र नदी अतिक्रमण नियन्त्रणका योजना समयमा बनाए विपद्बाट आइपर्ने क्षति न्यूनीकरण गर्न सकिन्छ।
तिनाउबारे अध्ययन गरेका डा. दाहालका अनुसार नदी १२ मिटरसम्म गहिरिएको छ। पाँच वर्षअघि २ करोड ७५ लाख रुपैयाँमा पुल मर्मत र संरक्षणको काम गरिएको थियो। तर, त्यसयता पनि तिनाउ गहिरिने क्रम रोकिएको छैन। पुल जोखिममा छ। अनियन्त्रित रूपमा ढुंगागिट्टी निकाल्ने गरिएकाले नदी गहिरिँदै गएको हो।
अनियन्त्रित ढुंगागिट्टी उत्खनन् र निकासीले पक्की पुल मात्रै नभई अरू धेरै समस्या सिर्जना गरेको छ। तिनाउ गहिरिँदा समुदायले व्यवस्थापन गरेको दक्षिण एसियाकै नमुना सोर्ह छत्तीस र चार तपाहा सिँचाइ प्रणाली पनि जोखिममा परेका छन्। यी दुई सिँचाइ प्रणालीको बाँधभन्दा तल नदीको सतह पुगेपछि नहरको भविष्य अनिश्चित बनेको छ।
कर्णालीको डरले टीकापुर सुत्दैन
टीकापुर–८ की सुर्जा साउँदलाई वर्षायाम लाग्यो कि निद्रै पर्दैन। २०६६ सालमा राति सुतिरहेका बेला गाउँमा कर्णाली नदी पस्यो। उनको घर भत्कायो। गाउँलेको बिचल्ली बनायो। त्यसै बाढीबाट तर्सिएकी सुर्जालाई बर्खाको बेला अझै पनि उस्तै डर लाग्छ। गत वर्षसमेत उनको धानबाली बाढीले बगाएको थियो। सुर्जा मात्र होइनन्, आकाशमा कालो बादल मडारिएको दिन कर्णाली नदी किनारका कोही पनि सुत्दैनन्। कर्णाली नदी फर्किन्छ भन्ने त्रासमा रात बिताउँछन्। नदी किनारका बासिन्दाको बर्सेनिको समस्या नै यही हो।
कर्णाली नदीबाट टीकापुर–५ को शाहीपुर, सिमरेनी–७ को सत्ती–८ को सूर्यपुर, बटनपुर, वनगाउँ, फाँटालगायतका बस्ती उच्च जोखिममा छन्। ‘प्रायः हरेक रात त्रासमै बित्छन्’ टीकापुर–५ सिम्रेनीका करवीर पुनमगरले भने, ‘हरेक वर्षायाममा बाढीसँगै बाँच्नु हाम्रो दिनचर्या जस्तै भइसक्यो।’ गतवर्ष कर्णाली नदीले शाहीपुर नजिकै कर्णाली नदीले बाँध भत्कायो। नदीले वडा नं. ५, ६, ७ र ८ का केही बस्तीमा क्षतिसमेत गर्यो। केही घरहरू भत्किए। सयौं बिघा धान खेती नष्ट भयो। किसानले खेतमा काटेर राखेको धानसमेत स्याहार्न पाएनन्।
यस वर्ष नदीले भत्काएको ठाउँमा रोकथामको प्रयास गरिएको छ। तर, त्यो प्रभावकारी नभएको स्थानीयको गुनासो छ। उनीहरू फेरि पनि नदीले सोही ठाउँमा भत्काउने खतरा रहेको बताउँछन्। नदीमा पानीको सहत बढ्दै गर्दा शाहीपुरको बाँध फेरि भत्किने त्रासमा स्थानीय छन्। शाहीपुरको जस्तै ठूलो खतरा वडा नं. २ को सनकट्टी घाटमा पनि देखिएको छ। नदीको पूर्वतर्फ बर्दियाको भूभागमा तटबन्ध गरिएको छ। सो तटबन्ध निर्माणका क्रममा नदीको बहावलाई पश्चिमतर्फ फर्काइयो। तटबन्ध निर्माणको काम सम्पन्न भएपछि नदीको बहावलाई यथावत् रूपमा फर्काउनु पर्ने हो। तर, त्यसो गरिएन।
बाढी आउने डरमा रातभर जाग्राम बस्छन् गुलरियाका स्थानीयवासी
बुटवलस्थित तिनाउ नदीको बहाव क्षेत्र खुम्च्याउँदै बस्ती बसेकाले बाढीको उच्च जोखिम छ
कर्णालीनजिकै टीकापुरको बस्ती भएकाले वर्षात्को समयमा बाढीले बगाउने चिन्ता
मेची, निन्दा, हडिया, बिरिङ, कनकाई, माई, कमल, देउनियाँ र रतुवा नदी का कारण झापामा तटीय क्षेत्रका बस्ती उच्च जोखिममा
तामाकोसी नदीमा पानीको बहाव उच्च बिन्दुमा पुग्दा रामेछापका धेरै बस्तीहरू उच्च जोखिममा
अहिले नदी पश्चिमतर्फ बगिरहेको छ। नदीको बहावलाई यथावत् रूपमा फर्काउन स्थानीयले दबाबसमेत दिएका थिए। निर्माण पक्षले स्थानीयको सुझावलाई बेवास्ता गर्यो। ‘हाम्रो कुरा कसैले सुन्दै सुनेन्। जबरजस्ती नदी पश्चिमतर्फ फर्काइयो’ राजीपुरका सिद्धराज ठकुल्लाले भने, ‘गत वर्ष मात्रै हाम्रो वनमा ठूलो क्षति भयो। यो वर्ष बाढीले हामीलाई ठूलो संकट निम्त्याउने देखिएको छ।’
२०६४ साल अघिसम्म नदीको अधिकांश बहाव कोठियाघाटतर्फ थियो। सो वर्ष आएको बाढीले नदीको बहावलाई पश्चिमतर्फ फर्कायो। कुनै बेला वर्षको ३ महिना मात्रै डुंगा चल्ने बर्दिया र कैलालीको सिमानामा त्यसपछि बाह्रै महिना डुंगा चल्ने गरेको छ। उच्च जोखिममा झापा छिमेकी पहाडी जिल्ला इलामबाट बगेर आउने नदीका कारण झापा जिल्ला बाढीको उच्च जोखिममा छ। मेची, निन्दा, हडिया, बिरिङ, कनकाई, माई, कमल, देउनियाँ र रतुवा नदी आसपासका तटीय क्षेत्रका बासिन्दा उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ। जिल्लाका १५ वटा पालिकामध्ये ११ वटा पालिका बाढीको उच्च जोखिममा रहेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना पुस्तिकामा उल्लेख छ।
गत असार १४ गतेको अविरल वर्षापछि आएको बाढीका कारण २ सय ७७ परिवार प्रभावित भएका थिए। बुधबार परेको अविरल वर्षाले माई खोलामा पानीको सतह बढेपछि पाँच परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले जानकारी दिए। माई खोलाले तटीय क्षेत्र कटान गर्दा झापा गाउँपालिका–१ स्थित मिलनबस्तीका ५ परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको एसपी पोखरेलले बताए।
त्यस्तै झापा र मोरङको सीमा भएर बग्ने रतुवा नदीले यस वर्ष झापामा धेरै क्षति पुर्याएको छ। नदीले धेरै क्षेत्र कटान गर्दा गौरादह नगरपालिका ५ र ६ का बासिन्दा विस्थापित भएका थिए। नदीमा लगाइएको बाँसको बाँधबाट भेल छिरेपछि घरआगनमा पानी पसेको स्थानीय सन्तलाल शर्माले बताए। रतुवामा करिब २ करोड ५० लाखको बजेटमा ६५० मिटर लम्बाइको तटबन्ध निर्माण कार्य जारी छ। समयमै तटबन्धन नसकिँदा नदीले बस्ती कटान गर्न थालेको छ। तटबन्धको ठेक्का लिएको गजुरमुखी निर्माण सेवा कम्पनीले आवश्यक सामग्री समयमा उपलब्ध नगराउँदा तटबन्ध नै बगाउने अवस्थामा पुगेको पेटी ठेक्कामा काम गर्दै आएका राम लिम्बूले बताए।
यस्तै, कमल नदीमा आएको बाढीले यो वर्ष शिवसताक्षी–३ मा १५ बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। नदीको कटान रोक्नका लागि जनताको तटबन्ध कार्यक्रम कार्यालय गैंडेले बाँसको पाइलिङबाट नियन्त्रणको प्रयास थालेको छ। बाँसको पाइलिङ बनाउन कार्यालयले करिब २० लाख रुपैयाँ खर्च गरेको वडा अध्यक्ष भाष्कर न्यौपानेले बताए। अघिल्लो वर्ष बाढीले सो क्षेत्रका १३ परिवार विस्थापित भएका थिए।
जनताको तटबन्ध कार्यक्रमले झापाका मेची, देउनियाँ, तिरिङ, कनकाई, मावा, कमल र रतुवा नदीमा तटबन्धको काम सुरु गरेको थियो। सातवटा नदीमा करिब ६ देखि ७ किलोमिटरसम्म तटबन्ध गर्न अर्थ मन्त्रालयसँग २७ करोड बजेट माग गरिएको थियो। तर, अर्थले रकम निकासा नगर्दा तटबन्धको काम अधुरै छोड्नु परेको जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख रूपनारायण अधिकारीले बताए।
तामाकोसीमा उच्च बहाव
केही समय यता तामाकोसी नदीमा पानीको बहाव उच्च बिन्दुले बढेको छ। त्यसैकारण रामेछापका धेरै बस्तीहरू उच्च जोखिममा परेका छन्। साउन १९ गते बिहान १ः३० बजे दोलखाको तामाकोसी नदी गंगोर जलमापन केन्द्रमा जलसतह एक्कासि बढेर सतर्कता तहमा पुगेको थियो। तामाकोसीको सुनकोसी दोभान सम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सूचनासमेत जारी गरेको थियो।
जोखिममा रहेका बस्तीहरूमा मन्थली–१४ फुलासीको देबीटार ८, गाईखुरा र जखनीटार ७ को घाट बजार, वडा नं ६ कुनौरी, खाँडादेवी– ४ रजगाउँ र माडीफाँट छन्। खिम्तीदेखि सेलेघाटसम्मको जोखिमयुक्त क्षेत्रमा नियमित गस्ती गरेर प्रहरीले पानीको बहाव अनुमान गर्र्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए। तत्काल विपद् व्यवस्थापन र उद्घारका लागि प्रहरी निरीक्षक र असईको कमाण्डमा प्रहरीलाई उच्च सतर्कताका साथ राखिएको पनि उपरीक्षक थिङले बाताए।
१४ वर्षमा ३१ को मृत्यु
बाँकेमा हरेक वर्ष साउन महिनामा बाढीका कारण बाँकेमा ठूलो संख्यामा मानवीय र भौतिक क्षति हुने गरेको छ। बर्खामा राप्ती नदी, मानखोला, डुडुवा, किरण नाला, सुखरा, मुगुवा, गावर, परुवा, रोहिणी, झिन्जरी, गुडुवा, खैरी, गोठरी, जेठी नालामा आउने बाढीले मानवीय र भौतिक क्षति गर्ने गरेका छन्।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार विगतका वर्षहरूमा भएका विपद्का घटनाहरूको असर र प्रभावको आधारमा बाँकेमा विपद्बाट २५ हजार घर परिवारका १ लाख ५० हजार व्यक्तिहरू प्रभावित हुने अनुमान गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले बनाएको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योेजना २०७९ मा यो वर्ष बाढीबाट मात्र १० हजार मानिस प्रभावित हुने अनुमान गरिएको ज्ञवालीले प्रष्ट पारे।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको तथ्यांकअनुसार बाढीबाट आर्थिक वर्ष ०६४÷६५ देखि ०७८÷७९ सम्म ३१ जनाको मृत्यु र ७० जना घाइते भएका छन्। सबैभन्दा धेरै मानवीय क्षति ०७१÷७२ को बाढीमा भएको छ।
शिव लिङ्गेश्वरमा क्षति
कञ्चनपुरको बेदकोट नगरपालिका–४ स्थित प्रसिद्ध पर्यटकीय स्थल शिव लिङ्गेश्वर धाममा पनि बाढीले क्षति पुर्याएको छ। बगुन खोलामा निमार्णाधीन झोलुंगे पुलको पिलरसमेत बाढीले भत्काएको छ। त्यसैैगरी बेदकोट–४ स्थित सार्कीपार्की टोलमा चौधर नदीले क्षति गरेको छ।
चौधर नदीले स्थानीय किसानको खेतीयोग्य जमिन कटान गरेको छ। दोधारा चाँदनी नगरपालिकाको वडा–१० हरेक वर्ष डुबानमा पर्ने गरेको छ। बाढीले हरेक वर्ष बालुवा थुपार्दा यहाँका किसानको खेत र नदीको सतह उस्तै भइसकेको छ।




