काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारको चार जना मृत भेटिएको घटना हत्यापछि आत्महत्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत भेटिएका थिए ।
सैनिक स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिका सोमबार विहान स्कुल जान बस चढ्न नआएपछि छिमेकीले सोधीखोजी गरेका थिए । घरमा बोलाउँदा कोही नबोलेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका फोडेर हेर्दा चारै जना मृत भेटिएका थिए । प्रहरीले मृतक चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।
कारण
तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीका दिनेश पाण्डेले श्रीमती सुनिता र दुई छोराछोरीको ज्यान लिनुअघि लेखेको १० पेज लामो सुसाइड नोट भेटिएको छ।
नेपाल प्रहरी एकजना अनुसन्धान अधिकृतका अनुसार उक्त सुसाइड नोटमा दिनेशले यो घटनाको प्रमुख दोषी पत्नी सुनिता पाण्डेका माइतीलाई मानेका छन्।
आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गरेर आफूलाई सिद्याउन खोजेपछि यति गम्भीर कदम उठाउन बाध्य भएको सुसाइड नोटमा उल्लेख गरेका छन्।



