अष्ट्रेलिया । इन्डोनेशियाबाट आएका एक यात्रुले खानेकुरा लिएर अस्ट्रेलया प्रवेश गरेपछि २५ सय डलर भन्दा बढीको जरीवाना नोटिसमा परेका छन्।
म्याकडनल्सको ’ह्याम क्रँस’ र ’एग एन्ड बिफ ससेज म्याकमफिन’ ल्याएका यात्रुले जैविक सुरक्षा नियम उल्लङ्घन गरेको भन्दै २,६६४ डलर जरिवानाको नोटिस जारी गरिएको हो। तर उनले आगमन फारम भर्दा आफूले ल्याएको खानेकुराका बारे जानकारी नगराएको अधिकारीहरुले बताएका छन्।
डार्बिन विमानस्थलमा जिन्टा नामक एक गन्धबाट सामान पत्ता लगाउने कुकुरलाई बायोसेक्युरीटीका लागि खटाइएको थियो। उक्त व्यक्तिले ल्याएको मासुजन्य खानेकुरा ल्याब परीक्षण पश्चात् उचित तरिकाले नष्ट गरिने बताइएको छ।
अस्ट्रेलियाका सङ्घीय कृषि मन्त्री मर्री वाटले उक्त यात्रुले ’म्याकाज’ खानाको लागि निकै ठुलो मूल्य चुकाउनु परेको भन्दै, जारी गरिएको जरिवाना, बालीदेखि अस्ट्रेलियाको हवाई भाडाभन्दा दोब्बर रहेको बताएका छन्।
कृषि, माछा पालन एवम् वन सम्बन्धी मन्त्रालयको वेबसाइटका अनुसार यात्रुहरूले क्यान वा जारमा रहेको मासु जन्य पर्दाथ भित्राउन सक्ने भएता पनि, खुला मासु भने न्युजिल्यान्ड बाहेकका मुलुकबाट भित्राउन नमिल्ने उल्लेख छ।
तपाई पनि अस्ट्रेलियाल आउँदै हुनुहुन्छ र प्रतिबन्धित खाद्य पदार्थ ल्याउनुभएको छ भने यस्तै जरीवाना तिर्नुपर्ने हुने सक्छ। बिनाघोषणा नेपालबाट गुन्दु्रक, सुकुटी, तामा, मस्यौरा जस्ता खाद्य पदार्थ ल्याउदा तपाई पनि समस्यामा पर्न सक्नुहुनेछ।




