चितवन : तरुण दल चितवनले कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्यामा संलग्न भएको आशंकामा प्रहरीले प्रवक्ता हेमन्त वास्तोला (विश्व) लाई पक्राउ गरेकोमा आपत्ति प्रकट गरेको छ । तरुण दल चितवनका प्रवक्ता समेत रहेका वास्तोला पक्राउ परेपछि विज्ञप्ति जारी गर्दै छानबिनको नाममा निर्दोषलाई फसाएर दोषीलाई उन्मुक्ती दिन खोजिएको तरुण दलको आरोप छ ।
‘घटनामा संलग्नताको आशंकामा प्रहरीले तरुण दल चितवनका प्रवक्ता हेमन्त वास्तोला (विश्व) लाई पक्राउ गरी हिरासतमा राखेको बिषय प्रति हाम्रो संगठन घोर आपत्ति प्रकट गर्दछ । घटनाको सत्य तथ्य छानबिन गरी पीडितमाथि न्याय दिने कार्य राज्य र प्रहरी प्रशासनको दायित्व हो । तर छानबिनको नाममा निर्दोष व्यक्ति फस्ने र दोषिले उन्मुक्ती पाउने कदापी हुनु हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।
घटनालाई तोडमोड गर्ने र राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा हिरासतमा लिएको व्यक्तिलाई जबरजस्ती दोषी बनाउन खोजिए चरणवद्ध आन्दोलन गर्न वाध्य हुने तरुण दलले चेतावनी दिएको छ । ‘घटनालाई तोडमोड गर्ने र राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा हिरासतमा लिएको व्यक्तिलाई मानसिक तनाव दिने र जबरजस्ती दोषी मुकरण गर्ने कार्य भएमा तरुम चितवन चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्न वाध्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ । यसबाट उत्पन्न हुने घटनाको जिम्मेवारी प्रशासनले लिनुपर्ने विज्ञप्तिमा भनिएको छ ।