नवलपुर : पूर्वी नवलपरासीको नारायणी नदीमा माछा मार्न गएका श्रीमान श्रीमती मध्ये श्रीमती नारायणी नदीमा डुवेर निधन भएको छ ।
आइतवारराति मध्यविन्दु नगरपालिका २ नन्दपुर स्थित नारायणी नदीमा माछा मार्न गएका नन्दपुरका ४५ बर्षीया फुलमाया बोटेको माछा मार्ने क्रममा नारायणी नदीमा डुवेर निधन भएको हो ।
प्रहरी चौकी कोल्हुवाका अनुसार गएराति श्रीमान सुकबहादुर बोटे र श्रीमती फुलमाया बोटे नारायणी नदीमा माछा मार्न गएका थिए ।
माछा मार्न भनी गएकोमा फूलमाया बोटे नारायणी नदिमा आइतवारराति वेपत्ता भएकी थिइन् । त्यस्पछि खोजी गर्ने क्रममा सोमवार घटना स्थलदेखि ५ सय मिटर तल शव फेला परेको थियो ।
नवलपुरमा नारायणी नदी किनार बसोबास गर्ने माझी, मुसहर, बोटे समुदाय साँझ विहानको छाक टार्नकै लागि नारायणी नदीमा माछा मार्न जाने गर्दछन् ।
उनीहरुलाई कहिले बाघ, कहिले गैडाको सिकार हुन्छन त कहिले नारायणी नदीमा डुबेर ज्यान गुमाउन पुग्दछन् ।
नारायणी नदीमा माछा मार्नका लागि उनीहरुसँग लाइसेन्स भए पनि निकुञ्जले जाल खोसी दिने, मानिसलाई नियन्त्रणमा लिएर मुद्दा लगाउने आदि गरेका कारण रातको समयमा नारायणी नदीमा माछा मार्न जाने गर्दछन् ।
रातभर माछा मारेर विहान बजार वा नजिकको होटेलमा लगेर बेची आफ्नो जीवन गुजारा गर्दछन् ।