काठमाडौं : नेकपा एमालेले स्थानीय चुनावलाई लक्षित गरेर टिकटक प्रतियोगिता आयोजना गरेको छ । जसमा सहभागी हुनेले क्रियटिभिटी र लोकप्रियता विधामा एक एक लाख जित्न सक्नेछन्।
क्रियटिभिटीका आधारमा पुरस्कार पाउनका लागि भिडिओमा रचनात्मक कुराहरु बढी समावेश भएको हुनुपर्नेछ । त्यस्तै लोकप्रियता विधामा पुरस्कार पाउनका लागि सो व्यक्तिले भिडिओमा सर्वाधिक भ्युज हुनु पर्नेछ ।
यी दुवै विधामा उत्कृष्ट हुनेले जनही एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार र २५ हजार नगद प्राप्त गर्नेछन् ।
प्रतिस्पर्धीले बनाएको उक्त भिडिओ नेकपा एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने बताइएको छ । भिडिओ टिकटकमा पब्सलिस गर्दा प्रतिस्पर्धीले ह्यासट्याग भोट फर सन्, ह्यासट्याग सीपीएन यूएमएल, ह्यासट्याग साइबर सर्कल नेपाल, ह्यासट्याग आई एम विथ केपी ओली प्रयोग गर्नुपर्नेछ ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाक्षां पूरा गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ
साइबर सर्कल एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टीका सिद्धान्तलाई चर्चित भिडिओ शेयरिङ एप टिकटक मार्फत प्रस्तुत गर्न उक्त प्रतियाेगिता आयोजना गर्न लागेको बताइएको छ ।