वीरगञ्ज : बारामा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ । आगलागी हुँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका– १७ ब्रम्हपुरी टोल बस्ने धुरी साह कानु रहेका छन् ।
२५ फागुनमा राति सवा ९ बजे घरमा खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिक भई आगलागी भएको थियो । आगलागीमा परी कानुको शरीरको छातिमुनिको ६० प्रतिशत भाग जलेको थियो ।
नेशनल मेडिकल कलेज वीरगञ्जमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा गएराति १२:१० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
आगलागीबाट मृतकको नातिनी ३ वर्षीया सुप्रिया साहको पनि घुँडा भन्दा मुनिको भाग जलेको लियो । कलैया अस्पतालमा उपचारपछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।