काठमाडौं : नेपाल बन्दको सामान्य प्रभाव देखिएको छ । एमसीसी आज संसदमा पेश गर्न लागेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा सडकमा छन् ।
त्यस्तै, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज नेपाल बन्दको आह्वान गरेका थिए ।
बन्दका कारण विद्यालयहरु बन्द रहेपनि यातायातलगायत अन्य क्षेत्रमा यसको प्रभाव देखिएको छैन ।
बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी सडकमा छन् । गृह मन्त्रालयले मंगलबार नै सर्कुलर जारी गरेर सबै जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिइसकेको थियो ।
काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिलासहित २३ जना पक्राउ परेका हुन् ।