सुनसरी : सुनसरीको कोशीमा स्थित पूर्व पश्चिम राजमार्गमा स्करपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका ५ बस्ने ५० वर्षीय दिलीप मण्डल रहेका छन् ।
कंकालिनी नगरपालिका ५ कै ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय राम कुमार रजक, ४८ बर्षीया राम कुमारी देवी रजक र ५० वर्षीय उमेश कुमार साफी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
घाइतेहरूको जिल्ला अस्पताल इनरुवा सुनसरीमा उपचार भई रहेको छ ।
मङ्गलवार राती ९ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश नं. २-०१-००१ च ००३१ नम्बरको स्कार्पियो गाडी रोकी राखेको वि आर-०१-जिए-४४८३ नम्बरको भारतीय ट्रक ठोक्किएर अनियन्त्रित हुँदा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत स्कारपियो ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न तिन वटै सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।