यतिबेला अभिनेत्री उपासना सिंह ठकुरी करिअरको उचाइँमा छिन् । डेब्यू फिल्म ‘क्याप्टेन’ मा अभिनय र सुन्दरताको वाहवाही भएपछि उनले सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो सिरिजमा काम गर्ने अवसर पाइन् । यो फिल्मले उनलाई व्यवसायिक सफलता दियो । त्यसयता उनले करिअर फर्केर हेर्नु परेको छैन । हातमा फिल्म टुटेको छैन । स्टार कलाकारहरुसँग काम गरिरहेकी छन् ।
‘कबड्डी कबड्डी कबड्डी’ रिलिजपछि अध्ययनका कारण करीब एक वर्ष नयाँ फिल्ममा हात नहालेकी उनले पहिलो लकडाउनपछि फिल्म ‘डिसेम्बर फल्स’ मा काम गरेकी थिइन् । लगत्तै उनले कोरियोग्राफर कविराज गहतराजले निर्देशन गर्ने फिल्म ‘मिरर’ साइन गरिन् । दशैंपछि उनी अर्को फिल्म ‘सत्यम्’ मा अनुबन्ध भइन् । तर, कोरोनाका कारण दुवै फिल्मको छायांकन अन्योल बनेको छ ।
दुई फिल्मबाटै युवापुस्तामा राम्रो क्रेज बनाएकी उपासना अहिलेसम्म विवादमा तानिएकी छैनन् । उनको प्रेम सम्बन्धको चर्चा पनि मिडियामा चलेको छैन । तर, शनिवार इन्स्टाग्राममा पोस्ट गरेको एक तस्विरका कारण भने उनी विवादमा तानिन सक्ने देखिएको छ । तस्विरमा उपासना बोल्ड अवतारमा देखिएकी छन् । उनले गुलाबको गुच्छाले आफ्नो छाती छोपेर फोटोसुट गराएकी छन् ।
उपासनाको शैलीमा यसअघि कयौं भारतीय अभिनेत्रीहरुले फोटोसुट गराएका छन् । नेपालमा पनि केही अभिनेत्रीहरुले चर्चाका लागि टपलेस तस्विर खिचाएका छन् । मनोरञ्जन क्षेत्रमा कलाकारका लागि बनेको ‘बदनाम हुनु तर गुमनाम नहुनु’ भन्ने उखानलाई उपासनाले पनि आत्मसात् गरेकी त होइनन् ? उनले बोल्ड तस्विर सार्वजनिक गरेसँगै यस विषयमा चर्चा परिचर्चा सुरु भएको छ ।