काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य फेरि वढेको छ । नेपाल आयल निगमले पेट्रोल , डिजेल र मटितेलको लिटरमा ३ रुपैयाँ बढाएको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ , डिजेल र मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ ।
आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।
पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो ।