गत मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका चारै जना नेपाली नागरिकको सनाखत भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका-५ तनहुँका ओमबहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी थियो ।
ग्रिस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मा मृतकको फोटो राखेको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको नेपाली राजदूतावास भियनाले जनाएको छ । दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ ।
भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर घाइते भएका थिए । हाल ग्रिसको एथेन्स सहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य ४ जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीको सो दुर्घटनामा मृत्यु भएको थियो ।
तिब्र गतिमा भएको गाडीले सन्तुलन गुमाएर दुर्घटना भएको बताइएको छ । घटनामा दुई नेपाली सहित ८ जना घाइते भएका हुन् । घाईते नेपालीहरुले नै दुर्घटनामा अन्य ४ जनाको मृत्यु भएको बारे जानकारी दिएका थिए ।