काठमाडौं : नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदकाे ३ हजार २८२ मतगणना भएकाे छ । कुल ४ हजार ६७९ मत खसेको थियाे । सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ ।
हालसम्मकाे मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् । निर्वाचन समितिका अनुसार देउवाले १ हजार ५५६ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार १९७ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन् ।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राेबीच दाेस्राे चरणमा चुनाव हुनेछ ।
सभापति पदमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाको प्रतिस्पर्धा चलिरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी छन्। कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५१ प्रतिशत मत आवश्यक पर्छ। यो प्रतिस्पर्धा कायमै रहे पहिलो चरणमा सभापति पदमा कसैको ५१ प्रतिशत नपुग्न सक्छ।
कोइरालासहितका सभापतिका अन्य चार उम्मेदवारको मत जोड्दा देउवा पछाडि छन्। यो मतपरिणाम कायम रहे देउवाले सभापतिमा ५१ प्रतिशत पुर्याउन गाह्रो छ।
त्यसो हुँदा दोस्रो चरणमा मतदान गर्नुपर्ने हुन्छ। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार दोस्रो चरणमा भिड्छन्। कम ल्याउने उम्मेदवारले जसलाई सहयोग गर्छन् उही सभापति निर्वाचित हुने छ।
सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।