काठमाडौँ – करणी उधोग गरेको आरोपमा बागलुङको एक बैंकमा कार्यरत युवा पक्राउ परेका छन् । ३० वर्षीया एक महिलामाथी करणी गरेको आरोपमा प्रहरीले सेन्चुरी बैंक लि. बागलुङ शाखामा कार्यरत कमल प्रसाद बिनारीलाई पक्राउ गरेको हो ।
कैलालीको जोसिपुर गाउँपालिका वडा नम्बर १ घर भएका २९ वर्षीय बिनारीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार पक्राउ गरेको हो ।
केही वर्ष पहिलेदेखि आफ्नै धर्म दिदी बनाएर तिहारमा भाईटिका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते करणी उद्योग गरेको भन्दै परिवारले उजुरी दिए पछि प्रहरीले पक्राउ गरेको हो । ती महिलाका पति बैदेशिक रोजगारीबाट केही दिन पहिला फर्किएका थिए ।
पीडित महिलाले कात्तिक १० गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक इकवाल हवारीले बताए ।
यस्तै, काठमाडौँ महानगर–३२ नरेफाटबाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर स्थायी घर भएका १९ वर्षीय युवराज स्याङ्बो, २८ वर्षीय विवेक रुम्बा र काठमाडौँ घर भएका ३४ वर्षीय अबिनास राज भण्डारी छन् ।
उनीहरुलाई नरेफाटस्थित धमला दूध डेरी नजिकै सडकमा लागुऔषध विक्रीवितरण गर्न लागेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट ३ किलो ४७० ग्राम चरेश, १८० ग्राम गाँजा र ४ थान मोबाइल बरामद गरेको छ । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।