काठमाडौँ, कात्तिक ६ गते । एक महिलाले लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको विदेह नगरपालिका- ६ गिद्धा बस्ने ५० वर्षीया जमुन देवीले खुट्टामा लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने स्थानीय ३५ वर्षीय रामभजन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
फरार महतोलाई महोत्तरीको गोनरपुरा भन्ने स्थानबाट पक्राउ गरिएकाे प्रहरीले जनाएको छ। प्रहरी चौकी तिनकोरियाका सई शारदा शंकर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले महतोलाई शुक्रबार राति १२ः१० बजेतिर उनको ससुरालीबाट पक्राउ गरेको हाे।
शुक्रबार बिहान ११ बजे चौरमा घाँस काटिरहेका बेला जमुनको घाँटीमा छुरा रेटेर महतोले पाउजु लुट्ने प्रयास गरेका थिए । छुरा प्रहारले जमुनको घाँटीमा काटिएर रगत आएको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराउँदै उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए ।
अहिले जमुनको स्वास्थ्य अवस्था ठिकै रहेको र घटनामा संलग्न महतोलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा महतोले जमुनको पाउजु लुट्न हत्याको प्रयास गरेको खुल्न आएको उनले बताए ।