काठमाडौँ । काठमाडौँबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ ।
आज भएको दुर्घटनामा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन्, तीनको अवस्था गम्भीर रहेको छ । काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा४ख १८०२ नम्बरको बस दुर्घटनामा परेको हो ।
बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दुर्घटनामा परेको बताइएको छ । बस बाटोबाट १० मिटर तल खसेको छ । स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।
यो पनि पढ्नुहोस्;
मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।
नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने जानकारी दिए।
प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।
घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पुर्याइएको थियो । घाइतेको बाँकेको कोहलपुर र नेपालगञ्ज मेडिकल कलेज उपचार भइरहेको छ । सामान्य घाइते छ वर्षीया एक बालिकाको मुुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ ।
दुर्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिएका थिए । प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरीलाई दुर्घटनाको खबर आउने बित्तिकै उद्धार गरेर उपचारका लागि पठाइएको बताए । उनका अनुसार हाल १३ जना उपचाररत छन् ।