काठमाडौं, असोज १५ – पशुपतिमा सन्तोष भन्ने बाबालाई खुकुरी हानेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान प्रहरीले काठमाडौंको हेपाली हाइटबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
चितवन जगतपुरस्थित नयाँ बस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो। उनले गत सोमबार बिहान पशुपतिमा एक बाबामाथि खुकुरी प्रहार गरी भागेको आरोप छ।
पशुपति बस्दै आएका सन्तोष बाबालाई विश्वरूपा जाने बाटो छेउको झाडीमा खुकुरी प्रहार भएको थियो।
शौचालय जाँदै गरेका उनलाई ताराबहादुरले ‘माल (गाँजा) निकाल’ भनेको प्रहरीले जनाएको छ। तर आफूसँग नभएको बताएपछि उनले पेटमा खुकुरी हानेर फरार भएका थिए।
खुकुरी प्रहारबाट घाइते भएका सन्तोष बाबा वीर अस्पतालमा उपचाररत छन । प्रहरीले घटनामा प्रयोग गरेको खुकुरी र झोला पनि बरामद गरेको छ। उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।