काठमाडौं, असोज ५ – श्रीमान्को हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका-४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो ।
दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनगरस्थित बरही गाउँमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो । भारतीय प्रहरीले दुखरनको शव फेला परेपछि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाएको र अनुसन्धानका क्रममा उनकी श्रीमती हरिहरदेवीको संलग्नता पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
घटनामा संलग्न भारतीय २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । श्रीमान् दुखरनले गर्ने घरेलु हिंसा र अवैध प्रेम सम्बन्धका कारण श्रीमती हरिहरदेवीकै योजनामा दुखरनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीको भनाइ छ ।
महरा दम्पतीको चार छोराछोरी छन् । वैदेशिक रोजगारीबाट फर्किएका महराले आफ्नै घरमा फर्निचर तथा किराना पसल सञ्चालन गरेका थिए ।
श्रीमान्ले मदिरा सेवन गरी आफूलाई विदेशमा हुँदा कमाएको पैसा कहाँ खर्च गरिस् भन्दै कुटपिट गर्ने गरेकाले आफ्ना प्रेमी भारतीय नागरिक मुकेशसँग मिलेर हरिहरदेवीले श्रीमान् दुखरनको हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
यसरी बनाइन् योजना –
दुई वर्ष अगाडि हरिहरदेवी पाठेघरको अप्रेसन गराउन श्रीमानसँगै भारतीय बजार जयनगर पुगिन् । त्यहाँ उनको उपचारको क्रममा अस्पतालमा बस्दा भारतीय नागरिक एम्बुलेन्स चालक मुकेश यादवसँग चिनजान भयो । चिनजानपछि उनीहरुको सम्बन्ध प्रेममा परिणत भयो ।
श्रीमानले कुटपिट गरिरहेको र दुःख दिने गरेको कुरा हरिहरदेवीले प्रेमी मुकेशलाई सुनाइन् । प्रेमीलाई आफ्नो श्रीमानलाई हत्या गरिदिनु पर्यो भनेर हरिहरदेवीले आग्रह गरिन् । त्यसबापत मुकेशले एक लाख भारतीय रुपैयाँ सुपारीको रुपमा माग गरे । हरिहरदेवीले एक लाख रुपैयाँ नभई ४०-५० हजार दिने कबोल गरिन् ।
हत्या गराउन आवश्यक रकम व्यवस्थापन गर्नको लागि हरिहरदेवीले घर खर्चको अभाव भयो ऋण निकाल्नुप¥यो भनेर श्रीमानसँग सल्लाह गरिन् । भदौ १७ गते गोलबजारस्थित छिमेक लघुवित्तबाट ६० हजार ऋण निकालिन् । ऋण निकालिसकेपछि हरिहरदेवीले बिरामी भएको र उपचारको लागि भारतीय बजार जयनगर जाउ भनेर श्रीमानलाई फकाइन् ।
अवैध प्रेम सम्बन्ध तथा घरेलु हिंसा, उपचार क्रममा भारतीय बजार पुग्दा एम्बुलेन्स चालकसँग प्रेम गरिन्, पछि त्यही प्रेमीबाट श्रीमानलाई हत्या गराएको खुलेको छ ।