चितवन,३ असोज । संविधानको दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन कारागारका रहेका २३ कैदीबन्दीको आधा सजाय मिनाहा गरेकी छन् ।
कारागारका जेलर कमल काफ्लेले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आधा कैदको सजाय मिनाहामा परेका २३ कैदीबन्दीलाई आजै आइतबार आफन्तको जिम्मा लगाइने बताए । सवारी ज्यानसम्बन्धी मुद्दाका ९ जना, कर्तव्यका ३, ज्यान मुद्दाका २, बहुविवाहका ४, हातहतियारका १ र चोरीका ४ जनाको आधा कैद मिनाहा भएको जेलर काफ्लेले चितवन पोष्टलाई जानकारी दिए । उनले भने, ‘असल आचरण भएकाहरुको नै कैद मिनाहा भएको हो । उनीहरुको कागजातको प्रक्रिया मिलाएर आफन्तको जिम्मा लगाउँछौँ ।’
राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा देशभर ५३१ जनाको कैद कट्टा गरी माफी गरेकी हुन् ।