निषेधाज्ञा लागू गरेसँगै बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ ।
करिब एक हप्ता अघिसम्म हालसम्म कै उच्च मूल्यमा बिक्री भएको कुखुराको मासु अहिले दैनिक रुपमा घट्दै गएको छ । विगतको दिनमा व्यवसायीहरूले प्रतिकेजी ४ सय ५० रुपैयाँ बिक्री गरिरहेको कुखुराको मूल्य निषेधाज्ञा लागू भएसँगै मूल्य घटेको व्यवसायीहरू बताउँछन् ।
विगतको दिनमा व्यवसायीहरूले चल्ला उत्पादन गर्ने प्यारेन्ट (माउ) को अभावले बजारमा कुखुराको उत्पादन घट्न थालेपछि कुखुराको मूल्य बढेको बताएका थिए ।
चिसो मौसममा उत्पादन कम भई कुखुराको मासुको मूल्य कम हुने र गर्मी भएपश्चात विस्तारै उत्पादन बढ्न गई बजारमा मासुको मूल्य घट्ने सर्वसाधारणहरूको भनाइ थियो ।
तर, गर्मी मौसम शुरु भए पनि बजारमा कुखुराको मासुको मूल्य घट्न सकेको थिएन । साथै, बजारमा उच्च मूल्यमा बिक्री गरेको भन्दै उपभोक्ताहरुले गुनासो गर्दै आएका थिए ।
करिब एक हप्तासम्ममा प्रतिकेजी ४ सय ३० देखि ४ सय ५० रुपैयाँसम्म बिक्री गर्दै आएको कुखुराको मूल्य निषेधाज्ञा लागू भएपछि खपतसँगै कुखुराको मूल्य घटेको नेपाल ह्याचरी संघका अध्यक्ष टिकारम पोखरेल बताउँछन् ।
उनका अनुसार विगतको दिनमा प्यारेन्ट चल्ला उत्पादन गर्ने प्यारेन्ट आयात गर्न नसक्दा बजारमा कुखुराको उत्पादन कम हुन गई मूल्य बढेको थियो । तर, अहिले जति पनि उत्पादन भएका कुखुराको मासु खपत हुन नसक्दा प्रत्यक्ष असरमा मूल्यमा परेको बताए ।
एक हप्ता अघिसम्म प्रति केजी ४ सय ५० रुपैयाँसम्म बिक्री भएको कुखुराको मासुको मूल्य निषेधाज्ञा पछि निरन्तर ओरोलो लागेर अहिले प्रतिकेजी ३ सय ७० रुपैयाँ देखि ३ सय ९० रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।