मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले शिक्षक श्रेष्ठ हत्या आरोपमा विप्लव मोरङका इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरेको हो।
उनीसहितका व्यक्तिले मोरङका व्यवसायीहरुसँग धम्क्याउँदै चन्दा माग गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले विकलाई पक्राउ गरेको हो ।
चन्दा संकलनका लागि मोटरसाइकलमा आउँदै गर्दा ३२ वर्षीय विकलाई पक्राउ गरिएको प्रहरीको भनाई छ।
उनको साथबाट पेस्तोल १ थान तथा ३ राउण्ड गोली बरामद भएको मोरङका डिएसपी मानबहादुर राईले बताउनुभयो । विकसहितको समूहले शिक्षक श्रेष्ठको घाँटी रेटी मंसिर २३ गते हत्या गरेको थियो। श्रेष्ठ मिक्लाजुङकै सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो ।
बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका ५४ वर्षीय श्रेष्ठको हत्यामा विकसहित अन्य पाँचजनाको संलग्नता रहेका प्रहरीले जनाएको छ।