प्रधानमन्त्री केपी शर्मा ओलीको हरेक कदममा साथ दिएको भन्दै राष्ट्रपतिको सर्वत्र आलोचना भएको छ।
यस अगाडी दल फुटाउने अध्यादेशमा ‘तोक’ लगाएर विवादित भएकी रास्ट्रपतिको पछिल्लो अध्यादेशसँगै झनै बढी आलोचना भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि राष्ट्रपतिसँग नेकपा भित्रका नेता मात्र नभई प्रतिपक्षि दलका नेता तथा सांसदहरु समेत चिढिएका छ।
जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् ।
उनले ट्वीट गरेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने बताएका हुन्।
सत्ताधारी नेकपा र विपक्षी कांग्रेसहितका दलले अध्यादेश ल्याउने ओली तथा त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरिरहेका छन् ।
तर डा. भट्टराईले भने ओली र भण्डारीको कदम संविधान विरोधी रहेकाले वक्तव्यवाजी वा गनगन मात्रै नगरेर संसद अधिवेशन बोलाई महाअभियोग लगाउनु पर्ने उल्लेख गरेका छन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘ महाभारतका दुर्योधनहरूले द्रौपदीको ची-रहर–ण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक र वक्तब्यवाजी र गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोग तर्फ लाग्ने हो?’