चितवन : धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।भरतपुर महानगरपालिका–१५ मा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यापाक अनियमितता भएको भन्दै उनीहरुविरुद्ध छानविन होस भनि उजुरी गरिएको हो ।
वाग्मती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेट राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरि छानबिन गर्न माग गरेका हुन् ।अधिकारीले दुई पृष्ठ लामो निवेदन सहित आइतबार बिहान अख्तियार आयोग टंगाल काठमाडौँमा निवेदन दर्ता गराएका हुन् ।
‘देश विदेशमा रहेका नेपालीहरुबाट चन्दा संकलन र भरतपुर महानगरपालिका लगायतका सरकारी कार्यालयबाट ५७ करोड भन्दा बढी रकम उठाई हाल सो रंगशालाको सरकारी इञ्जिनियरहरुबाट मूल्याङकन गर्दा १७ प्रतिशत पनि निर्माण कार्य पुर्ण नगरि उल्टै १७ करोड ऋण तिर्न पर्ने रकम देखाई परियोजना अलपत्र पारेर फरार रहेकोमा निजहरुलाई पक्राउ गरि आर्थिक अपचलन र ठगी मुद्धा माग गर्दर्छु’ उनले निवेदनमा लेखेका छन् ।