चितवन,२७ भदौं । जिल्ला प्रशासन कार्यालय चितवनले उत्कृष्ट अर्थात् ‘ए ग्रेड’ स्थान ल्याउन सफल भएको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ को कार्यसम्पादन मूल्याङ्कनको नतिजामा चितवन प्रशासनले उत्कृष्ट अर्थात् ‘ए ग्रेड’ ल्याएको छ ।
‘ए ग्रेड’ ल्याउने देशभर १४ वटा जिल्ला छन् । चितवन १२ औँ नम्बरमा परेको छ । कार्यसम्पादन मूल्याङ्कनमा झापा, अर्घाखाँची र रुकुमपूर्व प्रथम भएका छन् । ललितपुर र रुकुमपश्चिम द्वितीय भएका छन् भने गुल्मीले तृतीय स्थान ओगटेको छ ।
विभिन्न छ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा चितवन उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा ललितपुर, रुकुम पश्चिम, गुल्मी, स्याग्जा, सोलुखुम्बु, लमजुङ, बागलुङ, गोर्खा, जाजरकोट हुम्ला, कालिकोट, पर्वत र संखुवासभाको जिल्ला प्रशासन कार्यालय उत्कृष्ट अर्थात ‘ए ग्रेड’मा परेका छन् ।
गृहमन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, विकास निर्माण अनुगमन र समन्वय, आर्थिक सुशासनसँग सम्बन्धित कार्यसम्पादनको मापनको आधारमा ग्रेड छुट्टाइएको हो ।
यस्तै, झापा, अर्घाखाँची र रुकुमपूर्व सर्वोत्कृष्ट अर्थात् ‘ए प्लस’ ग्रेड ल्याउन सफल भएका छन् । त्यस्तै कार्यसम्पादनको उत्तमस्तरमा मनाङ, नवलपुर, मकवानपुर, तनहुँलगायत १८ जिल्ला समावेश भएका छन् । मध्यमस्तरमा २१ र न्यूनस्तरमा २१ जिल्ला समावेश भएका छन् । न्यूनस्तरमा काठमाडौँ, पर्सा, नवलपरासी (सुस्ता पश्चिम) लगायत
परेका छन् ।